काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी मंगलबार नारा लगाउँदै सडकमा निस्किए । उनीहरुले आफ्नै कलेजदेखि गौशालास्थित प्रहरी वृतसमेत घेर्न पुगे ।
सो कलेजका शिक्षकले छात्रामाथि बारम्बार दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित भएका विद्यार्थी शिक्षकमाथि कारबाहीको माग गर्दै सडकमा निस्किएका थिए ।
सुरुमा एक जना शिक्षक जनार्दन अधिकारीले दुर्व्यवहार गरेको मन्दै एक छात्राले आफ्ना अभिभावक र साथीलाई गुहारेकी थिइन् । तर, क्रमशः कुरा खुल्दै जाँदा अर्का शिक्षक पनि पीडकका रुपमा देखा परे अनि थप दुई जना छात्राले आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरे ।
यसरी कलेजका दुई जना शिक्षकविरुद्ध आक्रोशित विद्यार्थीले नारा जुलुश गर्दा चाबहिलदेखि गौशालासमेत तनावपूर्ण अवस्था सिर्जना भयो ।
कक्षा ११ मा अध्ययनरत एक छात्राले तीन महिनादेखि शिक्षक जनार्दन अधिकारीले आफूलाई सामाजिक सञ्जाल र भौतिक रूपमै दुव्र्यवहार गर्ने गरेको आरोप लगाएकी थिइन् । जुन कुरा उनले आफ्ना परिवार र कलेजका साथीलाई जानकारी दिएकी थिइन्। त्यसपछि विद्यार्थी आन्दोलित भएका हुन्।

ती छात्राले आरोप सार्वजनिक गरेपछि सोही कक्षामा अध्ययनरत अन्य दुईजना छात्राले पनि आफूसँग दुव्र्यवहार भएको खुलाएका थिए। उनीहरूले थप अर्का शिक्षक राजनकुमार पौडेलमाथि पनि आरोप लगाएका छन्। तीन महिनादेखि आफूमाथि शारीरिक दुव्र्यवहार गर्ने गरेको र त्यसलाई रोक्न खोज्दा ‘तलाई निष्कासन गर्दिन्छु’ भन्ने धम्की ती शिक्षकले दिने गरेको आरोप छात्राको छ।
ती शिक्षकले आफ्नो बेड पार्टनर बने छात्राको कलेज फिस तिरिदिने, कोठाभाडा पनि तिरिदिने प्रलोभन दिएको र भनेको नमाने कलेजबाटै निष्काशन गरिदिने धम्की दिएको पिडीत विद्यार्थी बताउँछन् ।
विद्यार्थीले कलेजमा धर्ना र नाराबाजी गरेपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी टोली कलेजतर्फ गएको थियो। त्यसपछि आरोपित दुवैजना शिक्षक अधिकारी र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर वृत्तमा राखेको छ ।
प्रहरीका अनुसार तीनजना छात्राले आफूमाथि दुरव्यवहार भएको दाबी गर्दै किटानी जाहेरी दिएका छन्। जसमा दुवैजना आरोपित शिक्षकमाथि दुर्व्यवहारको किटानी दाबी गरिएको छ।
प्रहरीले दुवैजनालाई न्यायिक हिरासतमा राखेको छ भने जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको समय लिएर अनुसन्धान अघि बढाएको छ ।