काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले सुन्दरी प्रतियोगितामा कडाइ गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकले नीतिगत स्पष्टता कायम गरेर मात्रै यस्ता प्रतियोगिता गर्न दिन निर्देशन दिएको हो ।
सुन्दरी प्रतियोगिता तथा मोडलिङका नाममा किशोरीमाथि यौन हिंसा हुने गरेको भन्दै संसदीय समितिले कडाइ गर्न र नीतिगत स्पष्टता कायम गर्न सरकारका नाममा निर्देशन दिएको समितिले जनाएको छ ।
‘मिस नेपाल प्रतियोगिता’ का नाममा आयोजकबाट आठ वर्षअघि एक किशोरीमाथि यौन दुर्व्यवहार भएको र उनै व्यक्तिबाट अर्की किशोरी पनि पीडित भएको घटना बाहिरिएपछि संसदीय समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
समितिको निर्णयमा भनिएको छ, ‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ, सम्बद्ध प्रतियोगिता र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यता)मा आधारित कुनै पनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी सीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ ।’