रेशम विसी
कालापानी लिपु मिचिदिँदा, बल्छ आगो नि बल्छ ।
महाकाली जल जलधरा, वेग नै वेग चल्छ ।।
खोजौं आफ्नो जमिन जलको, मूल कहाँ हरायो ?
नेपालीको मन मुटु सधैं, दुख्छ दुख्ने गरायो ।।
माटो मिच्दा हृदय चिरियो, दुख्छ छाती समाती ।
सिमानामा किन यति भयो, घात नेपालमाथि ।।
सिमानाको मिची जमिनमा, दुष्ट गर्दै छ खेला ।
नाङ्गो नाच्दै पतुर जसरी, गर्छ जैल्यै झमेला ।।
नाच्यो नांगो असुर दितिका, रात पा-यो अँधेरी ।
नेपालीको मन मुटु मिच्यो, घात ग-यो नटेरी ।।
जागौं जागौं अब त जन हो, देशका लागि जागौं ।
लागौं लागौं प्रियजनहरू, राष्ट्रका लागि लागौं ।।
कैले भिड्ने अब नि नभिडे, देशले चोट खायो ।
कैले लड्ने अब नि नलडे, देशले घात पायो ।।
भिड्नैप-यो प्रियजनहरू, गाउँबस्ती जुटेर ।
लड्नैप-यो जनजनहरू, गाउँबस्ती उठेर ।।
आओस् दुर्जन् अघि छ खुकुरी, पास हाम्रो छ साथ ।
घाँटी छिन्दै अब अघि बढ्यो, दुष्ट गर्नै छ नास ।।
नेपाली हो टलक खुकुरी, शान चम्काउ धार ।
झण्डा हाम्रो लिई अघि बढौं, साँधसीमा रक्षार्थ ।।

