काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मत खसेको जनाएको छ। आयोगले शुक्रबार राति १० बजेसम्म प्राप्त तथ्यांकअनुसार देशभर ६४ प्रतिशत मत खसेको जनाएको हो।
आयोगले राजनीतिक दल र उम्मेदवारबीचको विवादले विभिन्न १६ जिल्लाका २८ पालिकाहरुमा मतदान स्थगित भएको पनि जानकारी दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको बताउनुभएको छ ।
उहाँले मतदान स्थगित भएका स्थानहरुमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने पनि बताउनुभयो ।
आयोगले ७ प्रदेशमध्ये लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको जनाएको छ। आयोगका अनुसार मतगणना स्थलसम्म मतपेटिका ढुवानीको काम जारी रहेको र मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गरिने छ।
