काठमाडौं । उदयपुरमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । कटारी नगरपालिका–१० स्थित कालिका
माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा २० वर्षीय प्रवीण कटुवालको गोली लागेर ज्यान गएको छ। झडप नियन्त्रणका क्रममा प्रहरीले ८ राउण्ड गोली चलाएको छ।
कटारी १० मतदान स्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनुपरेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले बताउनुभयो । मृतक प्रवीण त्यहाँका स्वतन्त्र रुपमा वडा अध्यक्षका प्रत्यासी गौरव कटुवालका भतिजा हुन् ।
अर्का १० वर्षीय बालकको खुट्टामा गोली लागेको छ। घटनास्थल कटारी बजारबाट ३ घण्टा गाडीको दूरीमा रहेकाले थप विवरण आउन सकेको छैन।
गोरखामा गोली चल्दा निर्वाचनमा खटिएकी कर्मचारी घाइते
गोरखामा गोली चल्दा निर्वाचनमा खटिएकी एक कर्मचारी घाइते भएकी छन्। भीमसेन थापा गाउँपालिका वडा नम्बर २
स्थित खराखसे मतदान केन्द्रमा गोली चल्दा कर्मचारी मनिषा थापा घाइते भएकी छन्। उनको खुट्टामा गोली लागेको छ।
स्थानीय सिद्धकाली मावि गोरखामा कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो। सोही क्रममा विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो।