काठमाडौं । निर्वाचन आयोगले कसैको लोभ र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेको छ। शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी पूरा भइसकेको आयोगले जानकारी दिएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गर्नुभएको हो । प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रवन्ध मिलाइ सकिएको पनि बताउनुभयो ।
मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
‘पद, पैसा र पहुँचबाट प्रभावित नभइ निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भइ कसैको लोभ, लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्न म सबै मतदाता महानुभावहरू प्रति हार्दिक आह्वान गर्दछु’ थपलियाले भन्नुभयो, ‘निर्वाचनका सबै तयारी पूरा भइसकेका छन्। शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान सम्पन्न हुनासाथ सुरक्षित रुपमा मतपेटिका ढुवानीको प्रवन्ध मिलाइएको छ।’
प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभयो । उहाँले सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
‘कुनैपनि मतदाता मतदानको अधिकारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कली प्रमाणपत्रमध्ये कुनै एकको माध्यमबाट भोट हाल्न पाउने व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो ।