कञ्चनपुर । मौन अवधिमा प्रचार गरेको भन्दै कञ्चनपुरमा माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–१ मा भएको झडप झडपमा उम्मेदवारसहित केही कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा लालझाडी–१ माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार दिनेश राना रहेको माओवादीले जनाएको छ । घाइते भएकाहरुलाई धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।
प्रचण्डकी बुहारी तथा सो क्षेत्रकी सांसद बिना मगरले मौन अवधिमा चुनाव प्रचार गरेको भन्दै एमाले कार्यकर्ताले विवाद गरेका थिए । सोही विवाद झडपमा परिणत भएको हो ।

यद्यपी बिनाले भने जन्मदिनको अवसर पारेर खाना खानका लागि गाउँमा पुगेको बताएकी छिन् । तर, तस्बीरमा उनले मानिस भेला पारेर प्रचार सामग्रीसहित छलफल चलाएको देखिन्छ ।
मौन अवधि सुरु भएपछि पनि प्रचारमा सहभागी भएको भन्दै एमाले कार्यकर्ताहरुले सुरुमा होहल्ला गरेका थिए ।
झडपको विषयमा दुवै पक्षले विज्ञप्ति निकालेर एक अर्कालाई दोषारोपण गरेका छन् ।