काठमाडौं । निर्वाचन आयोग नेपालले आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।
बिहीवार आयोगले नियमित पत्रकार सम्मेलन मार्फत यसको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले वैशाख १९ गते सोमबारपछि गरेका मुख्य गतिविधि निम्न
प्रकारका छन् :
१. स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाई सम्पन्न भएको छ । वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ ।
२. वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाइृ फेरबदल नगर्न र उपर्युक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ । साथै, मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।
३. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेश गर्न भनेको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनी मुख्यमन्त्री भट्टले अभिव्यक्ति दिएको जानकारी आयोगमा प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाअनुसार उहाँलाई आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न अनुरोध गरेको छ ।
४. निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता, २०७८ प्रतिकूल हुने गरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ । पोखरेलले निर्वाचन आयोग, माननीय आयुक्तहरू, अयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिनुभएको जानकारी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएको थियो ।
५. रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धर्मनाथ चौधरीले निर्वाचन आचारसंहिता, २०७८ विपरित मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकाले चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । उम्मेदवार चौधरीले एक महिलालाई दुई हजार नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएको समेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो ।
६. नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहेका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
७. सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने हो चौबीस घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
८. बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको प्रचार प्रसारमा निरन्तर खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमाबाट जानकारीमा आएकाले सो कार्य निर्वाचन आचारसंहिता, २०७८ विपरितकोे देखिएकाले चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले आदेश दिएको छ ।
९. रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारहरूको प्रचार प्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले आयोगले निर्वाचन आचारसंहिता, २०७८ विपरीतको कार्य के कति कारणले गर्नुभएको हो ? भनी आयोगले २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ ।
१०.निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधिएको छ ।