रुकुम पश्चिम । माओवादीका आधिकारीक र बागी उम्मेदवार पक्षधरबीच झडप हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मंगलबार झडप भएको हो ।
झडपमा माओवादी कार्यकर्ताहरु धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई उपचारको लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप भएको हो ।
माओवादीले लक्ष्मण ओलीलाई टिकट दिएपछि सुन्दर ओलीले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दिएका ओलीलाई पार्टीले ६ महिनाको लागि निलम्बन गरेको छ ।
चुनाव प्रचारको सन्दर्भमा आधिकारीक उम्मेदवार र बागी पक्षधरबीच झडप भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, कसैलाई पनि प्रहरीले पक्राउ भने नगरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।