काठमाडौं । निर्वाचन सुरक्षाबारे चारवटै सुरक्षा निकायका प्रमुखबीच जंगि अड्डामा छलफल भएको छ ।
आसन्न स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलबीच जंगी अड्डामा भेटघाट तथा छलफल भएको हो ।
कार्यक्रममा सेनाको श्री युद्धकार्य निर्देशनालयका निर्देशकले यही वैशाख ३० गते हुने ‘स्थानीय तह निर्वाचन–२०७९’ को लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
साथै, उक्त कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।