काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराउनुभएको थियो । साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो ।
प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नुभएको थियो ।
भेटमा महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्रायः सबैजसोलाई खोप लगाइसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरे। कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाई थियो।
डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइड विरुद्ध बालबालिकाहरूलाई खोप सुरु गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायतका विभिन्न स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको पनि प्रसंशा गरेका थिए।