सामान्य रुपमा हामी पश्चिम बाग्लुङको सुन्दर, रमणीय र धार्मिक पर्यटकीय गन्तव्यको रूपमा परिचित ठाउँ ‘ढोरपाटन’ जाने छलफलमा थियौँ । पिकअप गाडी रिजर्भ गरि ५-६ जनाको समूह यात्रा गर्ने भद्र सहमती बनेको थियो । गज्जबको संयोग भनौँ हामी एकै परिवारका ३ सदस्यहरु म गोपाल, भाइ देवा र भतिज सागर गिरि वैदेशिक रोजगारीबाट छोटो समयको लागि छुट्टिमा घर आएका थियौँ ।
आ–आफ्नो परिवारसहित ढोरपाटन जाने समझदारी अनुसार गाडी व्यवस्थापनको लागि लक्ष्मी गिरिलाई जिम्मा दिइयो । भाडा समायोजन र अन्य थप पारिवारिक सदस्यहरु पनि धार्मिक यात्रामा सहभागी हुने भएकोले जिपमा यात्रा गर्नुपर्ने परिस्थिति बन्यो र फागुन ६ गते शुक्रबारको दिन ‘ढोर बराह’ दर्शनको मिति तय गरियो । उक्त धार्मिक यात्रामा सहभागीताको लागि महिला–पुरुष १२ र ३ जना बालबालिका गरि १५ जनाको समूह बन्यो । हामी धेरैजसो मुसिकोट नगरपालिका –१,पौदी अरेवा गुल्मी स्थायी बसोबास गर्ने थियौँ भने २ जना बडिगाड गाउँपालिका–२ राक्से बाग्लुङका हुनुन्थ्यो ।
सहभागी यात्रुहरु सुबेदार रेशम गिरि–लिला गिरि, गोपाल गिरि–लक्ष्मी गिरि, देवा गिरि–शुभद्रा पुरी गिरि, सागर गिरि–सनम गिरि, हमेश गिरि–गोमा गिरि, मनरुपा, सीता, दिपलभ, संयोग र लोभिशा गिरि थियौँ ।
हामी यात्रुहरु मध्य पौदी अरेवा गिरि परिवारकै सम्मानीय जेष्ठ नागरिक सुबेदार रेशम गिरिको ढोरपाटन यात्रा दोस्रो थियो । म गोपाल गिरि २०४७ साल पहिलो, २०५५ सालमा साथीहरुसँग दोस्रो र अहिलेको यात्रा तेस्रो पटक थियो । त्यसैगरी लक्ष्मी गिरिको दोस्रो थियो भने अन्य सबै तिर्थालुहरुको लागि पहिलो यात्रा थियो ।
हाम्रो यात्रा बिहानै ४ बजेदेखि सुरु हुने निर्णयनुसार कार्यक्रमको नेतृत्व लक्ष्मी गिरिले गरिरहेकी थिइन् । त्यसैले उनी रातको १२ उठिसकेकी थिइन् । म पनि झन्डै १ बजेतिर ब्यूँझिए । हामी सबैलाई थाहा छ आजभोलि गाउँ घर प्रायः सुनसान र मानिसविहीन जस्तै भएको छ । त्यसैले हामी सबै यात्रुगणहरु आ–आफ्ना गाई बस्तु, कुखुरा आदि इत्यादिको दानापानी, घाँसपातको व्यवस्थादेखि घरमा भोटे ताल्चा लगाएर बेलुकी अबेरसम्म घर फर्किनुपर्ने बाध्यात्मक स्थिति थियो । बिहान २ बजेदेखि लक्ष्मी गिरिले आफ्नो जिम्मेवारी अनुसार सबैलाई फोन सम्पर्क गर्दै थिइन् । कतिपय मस्त निन्द्रामा भएको कारण फोन रिसिभ हुँदैनथ्यो ।
समय आफ्नै गतिमा अगाडि बढिरहेको थियो । ३ बजेपछि चहलपहल व्यापक बन्यो र गाडी चालकसँग सम्पर्क हुन थाल्यो । क्रमिक रूपमा सबै यात्रु उठिसकेका थिए । ४ बजे ड्राइभर विष्णु जिसि हर्न बजाउँदै त्यो सुनसान बस्तिनिर आउनु भयो । घरायसी कामधन्दाका बाबजुद हामी सबै भेला हुन करिब आधा घन्टा समय लाग्यो । यात्रा सहजताको लागि सम्मानजनक तरिकाले जेष्ठता र शारीरिक अबस्थाको आधारमा गाडिभित्र बसाइ ब्यस्थापन गरी पौने ५ बजे अरेवा भुसालचौरदेखि ढोरपाटनको लागि गाडी छुट्यो।
पास्ती बिसौना हुँदै गाडी बिस्तारै गुडिरह्यो । क्षेत्रेको मोटरेबल पूल पार गरी लोकमार्ग सँग जोडिन गाडीले युटर्न मार्यो । राक्सेदेखि २ जना यात्रुलाई उठाएर जिप अगाडि बढिरह्यो । ठिक ६ बजे हामी पश्चिम बाग्लुङ्गको सुन्दर शहर बुर्तिबाङ पुग्यौँ ।सुनसान वातावरणमा फ्याट्टफुट्ट पसलहरु खुल्दै थिए । पुजापाठका लागि चाहिने सामग्रीहरु ढोरपाटनमा पाइन्छ या पाइँदैन भन्ने अन्योलताका बाबजुद आवश्यक धजा, नेजा, घण्टी ,अगरबत्ति, फलफूल आदि इत्यादी खरिद गरी बिहानीपखको सुन्दर शान्त बुर्तिबाङ बजारलाई छोडेर अधिकारीचौर, सहि खोला, बोबाङ हुँदै ढोरपाटन तिर लाग्यौँ ।
ढोरपाटनको लागि मोटर बाटो त्यति सहज थिएन । साँघुरो कच्ची बाटो, धुलो सँगै चढाउ पनि थियो । चढाउ बढी भएको कारण गाडीले तान्न नसकेर हामी २÷३ पटक गाडिबाट उत्रिएर हिँड्न पनि बाध्य भयौँ । कतिपय ठाउँहरुमा बाटो स्तरोन्नतिको कार्य धमाधम भैरहेको थियो । केही समयको यात्रा पछि हामी अत्यन्तै सुन्दर, समथर मानवबस्ती र रमणीय बोबाङ बजार आइपुग्यौँ । बोबाङ गाउँको सौन्दर्यताले हाम्रो मन जितेको थियो । सबैले गाडी भित्रदेखि बोबाङ बजार नियालिरहेका थियौँ । खासगरी उक्त गाउँमा काठै काठबाट बनाइएका पुराना घरका छानाहरु लोप भैसकेको पाइयो । बोबाङ सकिएपछी मलम्मे हुँदै नदी किनारै किनारको बाटोमा यात्रा गर्नु अझै कठिन थियो। ठाडो खोला पानीको बहाब कम हुँदाहुँदै पनि खोला वरिपरिको भुस्खलनको अवस्था हेर्दा अति डरलाग्दो थियो । कता कता नदी किनारमा मानव बस्तिहरु पनि देख्न पाइन्थ्यो । वारिपारी नदी किनारमा घर भन्दा ठूला देखिने ढुङ्गाहरु प्रसस्तै थिए ।
गाडी जति माथी चढ्दै जान्छ, उत्तिकै चिसो महसुस हुन्थ्यो । नदी किनार सकिएपछि देउराली जानको लागि गाडी उकालो चढ्न थाल्यो र वरिपरिको जङ्गलमा हिउँका ढिस्काहरु देखिन थाले । हामी गाउँबेसी बाट आएकाहरुलाई हिउँका ढिस्का प्रत्यक्ष रुपमा देख्न पाउनु पनि खुशीको कुरा थियो । त्यसैले हामी सबै यात्रुहरू धेरै उत्साहित थियौँ । कच्ची बाटो र खाल्डाखुल्डीमा जम्मा भएको पानी जमेर बाक्लो तैलिय पदार्थ तर जस्तै बनेको थियो । गाडीका चक्काहरु त्यो जमेको पानीमा ठोक्किएर आवाज आउने गर्थ्यो ।
हामी बिहान करिब १० बजे देउराली पुग्यौँ । देउराली पुग्नासाथ हाम्रो गाडी हिउँमा फस्यो । ड्राइभरको अथक प्रयासका बाबजुद पनि हिउँबाट गाडी निस्किन सकेन ।अन्ततः हामी सबै यात्रुहरु गाडिबाट उत्रियौँ । देउरालीमा जतासुकै हिउँ नै हिउँ थियो । हामी चिसोको कारण थुरथुरी काँपेका थियौँ । शरीरको रंग परिवर्तन भैसकेको थियो । ओठहरु निला भएका थिए । जिप देउरालीदेखि अगाडि जान सम्भव थिएन । देउरालीको टापुमा नेपाली सेनाको ब्यारेक सँगै ढोरपाटन निकुञ्जको बुथ रहेछ । त्यतिबेलासम्म देउरालीमा घाम लाग्दै थियो । ब्यारेकका जवानहरुले गाडी अगाडि जान नसक्ने स्थितिको जानकारी गराउनु भयो । केही समय हामीले घाम ताप्यौँ । त्यसपछी फसेको गाडीलाई धक्का दिएर निकाल्यौँ र देउरालीमै पार्किङ गर्यौं ।
ढोरपाटन निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकबाट दस्तुर असुली गर्ने व्यवस्था अनुसार प्रतिव्यक्ति १०० रुपैयाँका दरले हामीले भुक्तानी गर्यौं र देउरालीदेखि मोटर बाटो हुँदै उत्तर गङ्गा तिर झर्यौं । जतासुकै हिउँ नै हिउँ थियो । देउराली, उत्तरगङ्गा, स्यालापाखा र नैथुरका सुन्दर बस्तिहरु हिउँले ढाकेको थियो । घरका छानामा हिउँका पहाडहरु थिए । मोटर बाटोमा पनि ३—४ फिट हिउँ जमेको थियो । हामीहरु हिउँसँग खेल्दै रमाउँदै हासी मजाक गर्दै चिप्लिँदै हिँडिरह्यौँ । १३/१४ जनाको समूह लस्कर लागेर हिँडिरहेको अवस्थामा ३ वटा घोडा सवार गराउने भाइ–बहिनी घोडा लिएर हामीलाई सवार गर्न अनुरोध गर्न थाले । हामीलाई भने हिउँसँग खेल्दै पैदल हिँड्नु आनन्द लागेको थियो । घोडा सवार गराउनेहरु हाम्रै पछि–पछि हिँडिरहे । ५०० रुपैयाँमा सवार गराउनेहरु १०० रुपैयाँ सम्मको बार्गेनिङ गर्दै हामी उत्तरगङ्गामा अबस्थित बुर्तिबाङ ढोरपाटन चिनारी गेस्ट हाउसमा आइपुग्यौँ । केही समय विश्राम गरी कालो चिया पियौँ । उक्त गेस्ट हाउसका व्यवस्थापक वसन्त कँडेलसँग समसामयिक भलाकुसारी गर्यौं ।
वसन्त कडेलसँगको घनिभुत छलफल पछि हामीले भेडा पुजा गर्ने निर्णयमा पुग्यौं । खासगरी उत्तरगङ्गा बराह मन्दिरमा वार्षिक दुई पटक वैशाख पुर्णिामा र जनैपूर्णिमा को दिन विशेष धार्मिक मेला लाग्ने गर्दछ । उक्त मेलामा विभिन्न ठाउँबाट कयौँ तिर्थालुहरु पूजापाठको लागि आगमन हुने र पशु बलिको रूपमा भेडाहरु चढाउने गरिन्छ । पशु बलिबाट मनोकामना पूरा हुने धार्मिक मान्यता छ । पशु बलि प्रथासँग मेरो असहमति हुँदाहुँदै पनि पारिवारिक खुशीको लागि बलि दिनुपर्ने अवस्था सिर्जना भयो । उत्तरगङ्गामा अत्यन्तै जाडो र बाक्लो हिउँ परेको कारण पशु चौपायाहरुको बसाइँ बेसि तिर हुने भएकोले भेडा पाउन सम्भव थिएन ।
भेडा व्यवस्थापनको लागि गेस्ट हाउसका व्यवस्थापक एवम बराह मन्दिरका पुजारी बसन्त कडेललाई जिम्मा दिइयो ।भु जिबाट ल्याउनुपर्ने र करिब २ घन्टा समय लाग्ने भएको हुँदा आफ्नो पसल बन्द गरेर उहाँ भेडाको खोजीमा जानुभयो । हामहिरु घुमफिर गर्न लाग्यौँ । सोही समय हामीहरु घोडा सवारको आनन्द लिन थाल्यौँ । पालैपालो घोडा सवार गर्दै र हिँडदै हामी एयरपोर्ट नजिक पुग्यौँ । केही समय विश्राम गरेर हामी पुनः होटेलमा फर्कियौँ । पुजारी पनि भेडा लिएर आइपुग्नु भयो त्यसपछि पूजापाठका सामग्रीहरु लिएर हामी सबै मन्दिर तर्फ लाग्यौँ । चिसो पानी भएको कारण २२ औँ धारामा स्नान गर्न असमर्थ भएको हुँदा हात मुख धोएर विधिबत रूपमा पुजापाठ गर्यौं । पूजा सकेपछि खानपिनको व्यवस्था बुर्तिबाङ ढोरपाटन चिनारी गेस्ट हाउसमा थियो । भेडाको मासु प्रसाद सहितको भोजन ग्रहण गरियो ।
भोजनपछि करिब ३ बजे घर फर्किनको लागि उत्तरगङ्गादेखि देउराली तर्फ लाग्यौँ । देउराली पुग्नको लागि छोटो दूरीको पैदल घोरेटे बाटो थियो जसलाई ४–५ फिट हिउँका पाहाडले ढाकेर हिँडन नसकिने अवस्थामा थियो । मोटर बाटो र पैदल घोरेटो बाटो भएको कारण हामी बिभाजित बन्यौँ । छोटो दूरीको बाटो जाऔँ भन्दै रेशम गिरि बुवाको नेतृत्वमा आमा लिला गिरि, मनरुपा गिरि, लक्ष्मी गिरि, सीता गिरि, गोमा गिरि र जिप चालक विष्णु जिसि हिम्मत गरेर अगाडि बढ्नु भयो । हामी युवा ‘तोरि लाहुरे’हरु लामो दूरीको मोटर बाटो हुँदै देउराली तिर लाग्यौं । झन्डै हामी सँगसँगै देउराली आइपुग्यौँ ।
महिला सज्जनहरुको हिउँको पहाड चिर्दै हिँड्ने हिम्मत र ७५ वर्षीय हामी सबैको अभिभावक बुबा रेसम गिरिको कमान्डलाई हामीले सल्युट गर्यौं । बुवासँग अत्यन्तै जोश जाँगर र बर्फिलो इलाका कसरी हिँडनुपर्छ भन्ने गोर्खा रेजिमेन्टमा सेवारत हुँदाको अनुभव थियो । झन्डै ४ बजे पार्किङ गरिराखेको जिपमा सबै तिर्थालूहरु जम्मा भइ घर तर्फ लाग्यौँ ।
जिपको आफ्नै गतिसँगै हामी पनि हाँस्दै रमाउँदै गफिँदै ७ः३० बजेतिर सुन्दर नगर बुर्तिबाङ आइपुग्यौँ । केही समय सामान खरिद गरि भिमगिठे, खाल, खार, खौलार, न्वार, राक्से हुँदै झन्डै साँझ ८ः३० बजे घरमा आइपुग्यौँ र सबै आ—आफ्नो घरतर्फ लाग्यौँ । भोलि बिहान लक्ष्मी–गोपालको घरमा स–परिवार सहित ढोरपाटनका तीर्थ यात्रुहरुको सामूहिक खानपिन र यात्राको समिक्षा पारिवारिक वातावरणमा समापन गरियो ।
आरामदायी यात्रा गराउनुहुने कुशल ड्राइभर विस्णु जिसि, पूजापाठ र खानपिनको व्यवस्थापन सहयोग गर्नुहुने अत्यन्तै रमाइलो व्यक्ति वसन्त कडेल र ढोरपाटन यात्राको परिकल्पना गर्ने लक्ष्मी गिरि लगाएत साथ समर्थन र सहजीकरण गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै पारिबारिक र सामुहिक यात्राको अपेक्षा सहित २०७८ फाल्गुन ६ हामी सबैको मन मस्तिष्कमा अबिस्मरणिय दिन बनिरहने कामना गरौं ।
अन्त्यमा विगतका वर्ष गरिएका ढोरपाटन यात्राहरु भन्दा यसपालिको यात्रा पृथक रह्यो । मन्दिर व्यवस्थापनमा कयौं सुधार भएको अनुभुती भयो ।उत्तरगङ्गा बराह थानलाई कम्पाउन्ड घेरिएको, मन्दिरको नजिकै राजमोबाट निर्बाचित साबिक बोबाङ्ग गाविस अध्यक्ष एवम् नेकपा माओबादी केन्द्रका नेता स्व. शेरमान घर्तीको सम्झनामा धर्मशाला निर्माण गरिएको साथसाथै कयौं होटेल व्यवसाय पनि सञचालनमा रहेको पायौँ । ढोरपाटन क्षेत्रको पर्यटन र प्रवर्द्धनको विकासमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।
स्थानीय रूपमा कृयाशील राजनैतिक पार्टीहरु, सामाजिक संघ संस्था, सामाजिक बौद्धिक व्यक्तित्व र सरोकारवालाले विशेष पहल गर्नुपर्ने, निरन्तर रूपमा ढोरपाटन महोत्सव आयोजना गर्नुपर्ने र बुर्तिबाङदेखि ढोरपाटनसम्मको मोटरबाटो स्तरोन्नति गर्ने लगाएत अन्य विकासका पूर्वाधार तयार गरी व्यापक प्रचारप्रसारका साथ प्रकृतिको अनुपम उपहार सुन्दर शान्त धार्मिक धरोहर ढोरपाटनलाई सम्पूर्ण देशबासी पटक–पटक भ्रमण गर्ने पर्यटकीय गन्तव्यको रुपमा विकसित गरौँ । र, दिनहुँ सयौं सर्वसाधारण नागरिकले सहज रुपमा भ्रमण गर्ने वातावरणको अपेक्षा गर्दै पुनः ढोरपाटनको यात्रा गर्ने वाचासहित लेख समापन गर्दछु ।
(गोपाल गिरी, हाल कुवेत)

