काठमाडौं । नेपालले इन्डो प्यासिफिक रणनीतिको अंग बनेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको केही साता नबित्दै चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेका छन्।
नेपालको संसद्ले एमसीसी अनुमोदन गर्ने समयमा चिनियाँ अधिकारीहरूले त्यसको कडा टिप्पणी गरेका थिए ।
एमसीसीका कारण नेपाल शक्ति राष्ट्रको मैदान बन्ने आशंका भइरहेका बेला चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रवार (चैत ११ गते) काठमाडौं आउँदैछन्।
भ्रमणका बेला उनले प्रधानमन्त्री तथा राष्ट्रपतिका साथै प्रमुख प्रतिपक्षी नेता केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेटघाट गर्ने जनाइएको छ। उनी मार्च २७ (चैत १३) मा फर्कनेछन्।
नेपाली जनताले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने भन्दै विरोध गरिरहेका थिए । एमसीसी अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भन्दै चर्को विरोध भएपनि सत्तारुढ दलले संसदमार्फत यसको अनुमोदन गरेका थिए ।
संसद्ले अनुमोदन गर्नुअघि चिनियाँ अधिकारीहरूले नाम नलिईकनै एमसीसीमा कसैले दबावपूर्ण कूटनीति गर्न नहुने टिप्पणी समेत गरेका थिए।
त्यसअघि एमसीसीलाई लिएर अमेरिकी अधिकारीहरूले नेपाली नेताहरूलाई फोन गरेर दबाब दिएको सार्वजनिक भएको थियो । त्यसपछि दलहरूले व्याख्यात्मक घोषणा गर्दै संसद्मार्फत् एमसीसी अनुमोदन गराएका थिए ।
त्यस्ता भनाइहरूले कतै नेपाल ठूला शक्तिराष्ट्रहरूको स्वार्थ टकरावको चेपुवामा पर्ने त होइन भन्ने चिन्ता विज्ञहरूले गरिरहेका छन्।
छरछिमेकमा भारत र चीनबीचको सम्बन्ध अनि अन्तर्राष्ट्रिय क्षेत्रमा पश्चिमा मुलुकहरू, खासगरी अमेरिकासँग, चीनको बदलिँदो सम्बन्धका कारण नेपालजस्ता ठूला राष्ट्रको छेउमा रहेका देशहरू आगामी दिनमा झन् संवेदनशील हुनुपर्ने उनीहरूको सुझाव छ।
त्यसैले एमसीसी अनुमोदन लगत्तै हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।