कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरको चुनावी भेला शनिबार शुक्लाफाँटा नगरपालिकामा सम्पन्न भएको छ । भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले आगामी निर्वाचनमा उच्च मनोबलका साथ जनतामा जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।
राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा पार्टीले खेल्दै आएको भूमिकालाई जनतामा स्थापित बनाउन उहाँले आग्रह गर्नुभयो । आगामी स्थानीय निर्वाचनमा राष्ट्रघाती एमसीसी र यसका पक्षधरहरुको भण्डाफोर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा महासचिव भट्टले नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक धनदेव नाथलाई पार्टीमा स्वागत गर्नुभयो । भीमदत्त नगरपालिका वडा नं १५ का पूर्वप्रहरी नाथ राष्ट्रय जनमोर्चाले देशको राष्ट्रियता, सार्वभौकिता तथा अखण्डताप्रति लिएको अडानबाट प्रभावित भएर हालै राजमोमा प्रवेश गर्नुभएको हो ।

उहाँको पहलमा केही दिनअघि मात्रै भीमदत्त नगरपालिका वडा नं १५ मा दर्जनौं व्यक्ति राजमोमा प्रवेश गर्नुका साथै संगठन विस्तारसमेत भएको छ । नाथलाई शनिबार महासचिव भट्टले पार्टीमा औपचारिक रुपमा स्वागत गर्नुभएको हो ।
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष राम बहादुर कार्की, प्रदेश सचिव राजाराम चौधरी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी दत्त बडु, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष टेकेन्द्र शाहा, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य रमा नेपाली, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कमल साहु, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य गोबिन्द बोहरा, जातीय समता समाजका केन्द्रीय सदस्य गीता नेपाली, रक्तिम सांस्कृतिक अभियानका प्रदेश सदस्य क्रान्ती चैधरीको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष कार्कीले आगामी निर्वाचनसम्बन्धी कार्ययोजना पेश गर्नुभएको थियो । भेलाले अध्यक्ष कार्कीकै संयोजकत्वमा ९ सदस्यीय मूल परिचालन समिती गठन गरेको छ ।
यस्तै, राजाराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिती, सहसचिव लाल बहादुर कुँवरको संयोजकत्वमा १६१ सदस्यीय प्रचार प्रसार समिति र वीर बहादुर बोहराको संयोजकत्वमा १५ सदस्यीय स्वयम्सेवक परिचालन समिति गठन गरिएको छ ।
भेलाले यही चैत ८ देखि १५ गतेसम्म स्थानीय स्तरमा भेला गर्ने निर्णय गरेको छ ।
निर्वाचन तयारीका लागि भएको जिल्ला भेलाको सन्चालन राजमो जिल्ला सचिव अहिमान थापा र अध्यक्षता जिल्ला उपाध्यक्ष मन्जु परियारले गर्नुभएको थियो भने स्वागत जिल्ला सल्लाहाकार जय बहादुर मल्लले गर्नुभएको थियो ।