काठमाडौं । नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ।
दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।
उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्तापछि उनी आजै दिउँसो ३ः१५ बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।