तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको भेला सम्पन्न भएको छ । राजमो प्रदेश सल्लाहकार सुरेश थापाको प्रमुख आतिथ्यमा २०७८ फागुन २७ गते बाङ्गा टेक्तर समिति हलमा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै नेता थापाले अब सम्पूर्ण नेता–कार्यकर्तालाई चुनावमा होमिन आह्वान गर्नुभएको थियो । राजमोको सही नीति, कार्यक्रम र राष्ट्रियताको विषयमा उठाएका सवाल, सङ्घीयता विरुद्ध सङ्घर्ष, राष्ट्रघाती एम.सी.सी. विरुद्ध सङ्घर्ष, महङ्गी, भ्रष्टाचार विरुद्ध सङ्घर्षको कारण हाम्रो पार्टी जनतामा जान सजिलो भएको बताउँदै उहाँले जनताले राष्ट्रिय जनमोर्चा खोजेको बताउनुभयो ।
भेलामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विक, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमला पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्तीमगरले पनि सम्बोधन गर्नुभएको थियो ।
भेलाले नगरपालिका र गाउँपालिकाको भेला तय गरेको छ । जसअनुसार शिवराज नगरपालिकामा चैत्र १ गते, विजयनगर गाउँपालिकामा चैत्र ६ गते, कपिलवस्तु नगरपालिकामा चैत्र २ गते, वाणगङ्गा नगरपालिकामा चैत्र ५ गते, बुद्धभूमिमा चैत्र १२ गते भेला गर्ने मिति तय गरिएको छ । त्यसका साथै भेलाले जिम्मेवारी बाँडफाँड गरेको छ ।
राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा अघि बसेको भेलामा सञ्चालन ऋषिराम शर्माले र स्वागत रामप्रसाद बेल्बासेले गर्नुभएको थियो ।