काठमाडौँ । आठ राजनीतिक दलसम्बद्ध मजदुर सङ्गठनहरूले एम.सी.सी. का विरुद्ध फागुन ३० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन् ।
२०७८ फागुन २९ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो जानकारी दिएका हुन् ।
एम.सी.सी. को विरुद्ध उनीहरूले राजधानीमा माइतीघर मण्डलामा तथा त्यसैगरी देशैभरि विरोध प्रदर्शन तथा सभा गर्ने भएका हुन् ।
एवम् प्रकारले उनीहरूले आठ दलले एम.सी.सी. विरुद्ध घोषणा गरेका सम्पूर्ण कार्यक्रमप्रति आफूहरूको ऐक्यबद्धता रहेको पनि जनाएका छन् ।
प्रेसविज्ञप्तिमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष ईश्वर तिमिल्सिना, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष राजन तिमिल्सिना, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद थापा, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासङ्घ (पिकोन्ट) का अध्यक्ष केदार गिरी, वैज्ञानिक समाजवादी ट्रेड युनियन महासङ्घका संयोजक डी.बी. श्रेष्ठ, नेपाल ट्रेड युनियन फेडेरेसनका अध्यक्ष गङ्गाराम कार्की र अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष कृष्णहरि भट्टको हस्ताक्षर रहेको छ ।
