काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले पार्टी सदस्य विष्णु शर्मा (क. प्रभात) को निधनले पार्टीको आन्दोलन र नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनलाई गम्भीर क्षति पुगेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले बुधबार शोक वक्तव्य प्रकाशित गरी शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सिंहले शोक वक्तव्यमा सांस्कृतिक मोर्चाको माध्यमबाट उहाँले नेपालको सामाजिक परिवर्तनको आन्दोलनलाई अगाडि बढाउनमा भूमिका खेल्नु भएको उल्लेख गर्नुभएको छ ।
रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको हिजो मंगलबार काठमाडौंमा निधन भएको थियो । उहाँको बुधबार अन्त्येष्टि गरिएको छ ।
का. विष्णु पौडेल शर्मा (का. प्रभात)को ३१ वर्षको कलिलो उमेरमा नै २०७८ फागुन २४ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. शर्मा हाम्रो पार्टीको इमान्दार, अनुशासित, प्रतिवद्ध, जुझारू, सक्रिय र लगनशील सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीको जिल्ला तहमा समेत रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
पछिल्लो समयमा उहाँ काठमाडौ महानगरपालिका पार्टी समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय कोषाध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँ प्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । सांस्कृतिक मोर्चाको माध्यमबाट उहाँले नेपालको सामाजिक परिवर्तनको आन्दोलनलाई अगाडि बढाउनमा भूमिका खेल्नु भएको थियो ।
का. शर्माको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनका साथै नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा गम्भीर क्षति भएको छ ।अन्तमा हामीले का. शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०७८ फागुन २५ गते ।
मोहनविक्रम सिंह
महामन्त्री