काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) को दुस्परिणाम दीर्घकालसम्म रहने ठहर गरेको छ ।
सोमबार बसेको पीवीको बैठकले एमसीसीले दीर्घकालसम्म असर पार्ने भन्दै तयसविरुद्ध लगातार आवाज उठाउन आम जनसमुदायसँग आह्वान पनि गरेको छ ।
सरकारले एमसीसीको प्रस्तावलाई संसदद्वारा अप्रजातान्त्रिक प्रक्रिया अपनाएर पारित गरेको छ, भन्दै मसालले त्यसको कडा शब्दमा निन्दा र भ्रर्त्सना गरेको छ ।
यस्तै, रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पार्टीको धारणा सार्वजनिक गर्दै मसालले ‘रूसी र अमेरिकी साम्राज्यवादका बिचको साम्राज्यवादी स्वार्थहरूका कारणले उत्पन्न अन्तर्विरोध’ भनेको छ। त्यस प्रकारको स्थितिको सामना गर्नका लागि विश्वव्यापी रूपमा नै साम्राज्यवाद र फासिवाद विरोधी संयुक्त मोर्चाको आवश्यकतामा मसालले जोड दिएको छ।
यस्तो छ, वक्तव्य
नेकपा (मसाल) पीबीको आज बसेको अनलाइन बैठकले गरेका निर्णयहरूको जानकारीका लागि यो वक्तव्य जारी गरिएको छ ।
१) रूसले युक्रेनमाथि गरेको आक्रमणद्वारा पैदा भएको युद्धको स्थितिलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिएको छ । त्यहाँ त्यस प्रकारको स्थिति पैदा हुनुको कारण रूसी र अमेरिकी साम्राज्यवादका बिचको साम्राज्यवादी स्वार्थहरूका कारणले उत्पन्न अन्तर्विरोध नै हो । उनीहरूका बिचको त्यो अन्तर्विरोधका कारणले युक्रेनको राष्ट्रियता र सार्वभौमिकता तथा विश्वको नै शान्तिमा ठुलो खतरा पैदा भएको छ । त्यसकारण त्यहा“को त्यस प्रकारको स्थिति युक्रेनको मात्र समस्या नभएर सम्पूर्ण विश्वको नै समस्या हो । त्यसैले सम्पूर्ण विश्वका शान्तिप्रेमी जनताको त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छ । त्यस प्रकारको स्थितिको सामना गर्नका लागि विश्वव्यापी रूपमा नै साम्राज्यवाद र फासिवाद विरोधी संयुक्त मोर्चाको आवश्यकता छ । त्यस प्रकारको मोर्चाको निर्माणका लागि हाम्रो पार्टीले विश्वका क्रान्तिकारी तथा साम्राज्यवाद र फासिवाद विरोधी शक्तिहरूसित मिलेर पहलकदमी गरिरहेको छ र गर्ने पनि छ ।
२) अमेरिकी र रूसी साम्राज्यवादी शक्तिहरूको प्रतिद्वन्दिताका कारणले रूसका जनता ठुलो पैमानामा पीडित हुनु परेको छ । त्यसका विरुद्ध युक्रेनका जनताले कठिन सङ्घर्ष गरिरहेका छन् । उनीहरूको त्यो सङ्घर्षसित हामीले ऐक्यवद्धता प्रकट गर्दछौँ र त्यसका लागि नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । नेपालका सम्पूर्ण न्यायप्रेमी जनतासित युक्रेनका जनताले साम्राज्यवादी शक्तिका कारणले सामना गर्नु परिरहेको कठिन स्थितिका विरुद्ध आवाज उठाउनका लागि अपिल गर्दछौँ । हामीले के बुझ्नुपर्दछ भने युक्रेनका जनताको अहिलेको समस्या नेपालको पनि समस्या हो ।
३) सरकारले एमसीसीको प्रस्तावलाई संसदद्वारा अप्रजातान्त्रिक प्रक्रिया अपनाएर पारित गर्ने जुन कार्य गरेको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा निन्दा र भ्रत्र्सना गरेको छ । त्यसबाट नेपालमा दीर्घकालीन प्रकारका दुष्परिणामहरू हुने छन् । त्यसकारण त्यो एमसीसीका विरुद्ध लगातार आवाज उठाउनुपर्ने वा आन्दोलन गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यस सिलसिलामा हामीले अन्य कतिपय वामपन्थी शक्तिहरूसित मिलेर संयुक्त रूपले आन्दोलन गरिरहेका छौ“ र त्यस सन्दर्भमा कैयौँ कार्यक्रमहरू पनि निर्धारित भएका छन् । ती कार्यक्रमहरूलाई सफल पार्नका लागि व्यापक समर्थन र सहभागिताका लागि हामीले जनतासित अपिल गर्दछौँ ।
४) पाँच दलीय गठबन्धनका राष्ट्रिय जनमोर्चा बाहेक अन्य घटकहरूले एमसीसी प्रस्तावलाई पारित गराउन जुन प्रकारको भूमिका खेले, त्यसको विरोध गर्दै हामीले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेका छौँ । तर त्यस सन्दर्भमा हाम्रो यो पनि स्पष्ट मत छ कि प्रतिगमनको खतरा अहिले पनि देशमा विद्यमान छ र त्यसका विरुद्ध सङ्घर्षको अहिले पनि आवश्यकता छ । अहिले जुन सरकार बनेको छ, त्यो प्रतिगमनका विरुद्धको सङ्घर्षका सिलसिलामा नै बनेको हो । त्यसैले एमसीसीप्रति सरकार र अन्य पक्षहरूले अपनाएको गलत नीतिको विरोधस्वरूप हामीले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरे पनि प्रतिगमनका विरुद्धको सङ्घर्षको आवश्यकता अहिले पनि विद्यमान भएकाले त्यो सरकारलाई दिएको समर्थनलाई कायम राख्ने निर्णय गरेका छौँ । किनभने यो सरकारको विघटन भयो भने देशमा गलत प्रकारको राजनीतिक स्थिति उत्पन्न हुने वा प्रतिगामी शक्तिहरूलाई अरू बल पुग्ने सम्भावना रहने छ । त्यसैले वर्तमान सरकारका एमसीसी सहितका गलत नीति र क्रियाकलापहरूको विरोध गर्दै प्रतिगमनका विरुद्धको सङ्घर्षलाई बल पु¥याउनका लागि हाम्रो वर्तमान सरकारप्रतिको समर्थनको नीति कायम नै रहने छ । त्यो नीति प्रदेश सरकारहरूबारे पनि कायम रहने छ ।
५) छिटै स्थानीय चुनावहरू सम्पन्न हुँदैछन् । त्यो चुनावका सिलसिलामा पार्टीको गत केन्द्रीय समितिको बैठकले तालमेलको जुन नीति अपनाएको थियो, त्यसलाई निरन्तरता दिने हाम्रो नीति हुने छ । त्यस अनुसार राजावादी र एमालेसित तालमेल नगर्ने हाम्रो नीति कायम रहने छ भने गठबन्धन पक्षधर शक्तिहरूसित तालमेल गर्ने हाम्रो नीति पनि खुला रहने छ । तर त्यसको अर्थ गठबन्धनका सबै पक्षहरूसित अनिवार्य रूपले नै तालमेल गरेर जाने हाम्रो नीति हुने छ भन्ने होइन । गठबन्धनका कतिपय पक्षहरूले चुनावमा तालमेलको नीतिलाई अस्वीकार गर्ने कुरा बताउ“दै आएका छन् भने गतकालका कतिपय चुनावहरूमा भएका तालमेलमा कतिपय पक्षहरूले इमानदारिताको प्रदर्शन गर्ने गरेका छैनन् । त्यस प्रकारको पृष्ठभूमिमा गठबन्धनसित तालमेल गर्ने हाम्रो नीति खुला भएपनि स्वतः सम्बन्धित सबै पक्षहरूसित तालमेल हुने छ वा छैन त्यो कुरा विभिन्न पक्षहरूसितको वार्ता र समझदारीमाथि निर्भर गर्ने छ । त्यस प्रकारको सम्भावना नरहेको अवस्थामा हामीले देशभरि वा कतिपय जिल्ला र पालिकाहरूमा पनि एक्लै चुनावमा जाने नीति अपनाउनु पर्ने छ । त्यो कुरा विभिन्न जिल्ला वा पालिकाहरूमा अन्य पक्षहरूसित हुने समझदारीमाथि निर्भर गर्ने छ ।
६) एमसीसीप्रतिको विरोधका कारणले हामीले गठबन्धनबाट अलग हुने निर्णय गरे पनि वर्तमान सरकारलाई दिएको समर्थनलाई वा उनीहरूसितको चुनावी तालमेललाई कायम राख्ने जुन नीति अपनाएका छौँ, त्यसले हाम्रो पार्टीको बिना पूर्वाग्रह वस्तुस्थितिको यथार्थ मूल्याङ्कन गरेर सन्तुलित नीति अपनाउने हाम्रो पार्टीको राजनीतिक परिपक्वतालाई नै बताउँछ । हाम्रो पार्टीले आगामी दिनहरूमा पनि आवश्यकतानुसार त्यस प्रकारको नीति, अर्थात् आवश्यकतानुसार एकताका बिचमा सङ्घर्ष र सङ्घर्षका बिचमा एकताको नीति अपनाउने नीतिलाई निरन्तरता दिने प्रयत्न गर्नेछ ।
२०७८ फागुन २३
मोहनविक्रम सिंह
महामन्त्री