काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । इन्डियन आयल कर्पोरेसन (आई.ओ.सी.) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयम निगमले मूल्यवृद्धि गरेको हो ।
नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट २०७८ फागुन १७ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । त्यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एल.पी.जी. ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एल.पी.जी. ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने उपाध्यायले बताए ।
मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एल.पी.जी. ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।