प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
आठ राजनीतिक दलहरूले एम.सी.सी. को विरुद्ध राजधानीमा विरोधसभा सम्पन्न गरेका छन् ।
२०७८ फागुन १४ गते राजधानीको माइतीघर मण्डलामा उनीहरूले विरोधसभा सम्पन्न गरेका हुन् ।
नेकपा (मसाल) का ३ नं. ब्युरो प्रवक्ता समीर सिंहको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा आठ दलको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) का पी.बी.एम. पवनमान श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा नेता श्रेष्ठले नेपालका सत्तारूढ राजनीतिक दलहरूले एम.सी.सी. पारित गर्नुअघि युक्रेन घटनाबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
‘एम.सी.सी. पारित भयो भने नेपालको अवस्था अहिलेको युक्रेनको जस्तै हुने छ’ उहाँले भन्नुभयो– ‘त्यसकारण एम.सी.सी. कुनै पनि हालतमा पारित हुनुहुँदैन, त्यसलाई खारेज गर्नुपर्छ ।’
उहाँले एम.सी.सी. को विरुद्ध सशक्त जनआन्दोलन उठाउन आम जनतासित अपिल गर्नुभयो ।
कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी, नेकपा (विप्लव पक्ष), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र समाजवादी) ले गरेका थिए ।
आठदलीय सहकार्यले भोलि फागुन १५ गते आठै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी विरोधसभाको आयोजना गरेका छन् ।
