काठमाडौँ । प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । सरकारको आग्रहमा आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद सचिवालयले यस्तो निर्णय लिएको हो।
गत आइतवार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो।
शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको संसद बैठक सरकारकै आग्रहमा स्थगित भएको छ। दलहरुबीच एमसीसीलाई लिएर तानातान बढिरहेका बेला संसद बैठक सरेको हो।
अमेरिकाले आगामी फागुन १६ अर्थात् सोमबारसम्ममा एमसीसीसम्बन्धी सम्झौता पास भइसक्नुपर्ने अडान लिएको छ।अब अमेरिकाको अडान अनुसार आइतवार र सोमबारसम्म एमसीसीको छिनोफानो गर्नुपर्ने बाध्यता सरकारमाथि आएको छ।