गोविन्दकुमार शर्मा/डम्बर कार्की, काठमाडौँ ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहितका आठ दलले एम.सी.सी. को विरुद्धमा राजधानीमा जुलुस प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेका छन् ।
२०७८ फागुन ६ गते माइतीघर मण्डलाबाट निस्केको जुलुस नयाँ बानेश्वरमा पुगी विरोधसभामा परिणत भएको हो ।
विरोधसभामा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एम.सी.सी. ले नेपालको राष्ट्रिय सार्वभौमिकताको विरुद्धमा काम गर्ने बताउनुभयो ।
‘एम.सी.सी. नेपालको राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनताको विरुद्धमा छ’ उहाँले भन्नुभयो– ‘यही कारणले गर्दा हामीले एम.सी.सी. को विरुद्धमा आवाज उठाइरहेका छौँ ।’

उहाँले अमेरिकी साम्राज्यवादको साख्खै बन्नका लागि केही राजनीतिक दलहरूले एम.सी.सी. पारित गर्न पूरै बल लगाइरहेको दाबी गर्नुभयो ।
उहाँको भनाइ थियो– ‘नेपाली काङ्ग्रेस, नेकपा (एमाले) जस्ता केही दलहरू एम.सी.सी. मार्फत् अमेरिकी साम्राज्यवादको प्यारो बन्ने प्रयासमा छन् ।’
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले एम.सी.सी. अमेरिकी सुरक्षा नीतिअन्तर्गतको हिन्दप्रसान्त रणनीति भएको बताउनुभयो ।
‘अमेरिकाका लागि बढी चासोको विषय भएकाले हामीले भन्दा अमेरिकी साम्राज्यवादले यसलाई पारित गर्न जबर्जस्ती गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘नेपालको राष्ट्रिय सार्वभौमिकता अर्थात् नेपालको संविधान र ऐनकानुनभन्दा माथि भएकाले एम.सी.सी. लाई नेपाली जनताले पारित गर्न दिनै हुँदैन ।’

नेपाल अहिलेसम्म कसैको पराधीन नभएको उल्लेख गर्दै उहाँले एम.सी.सी. को विरुद्ध पनि सशक्त आन्दोलनमा उत्रन नेपाली जनतालाई आह्वान गर्नुभयो ।
उहाँले नेपालको असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘एम.सी.सी. स्वीकार्नुको अर्थ अन्ततः नेपाल अमेरिकी सैन्य क्याम्पमा जानु हो ।’
सम्बोधनको क्रममा उहाँले संसद्मा एम.सी.सी. टेबुल हुन नदिन सशक्त आन्दोलन उठाउन आठ दलसहित सम्पूर्ण देशभक्त नेपाली जनताको आन्दोलन उठाइने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पी.बी.एम. दिनेश शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेल, नेकपा विप्लव पक्षका केन्द्रीय सदस्य चिरन पुन, नेकपा (माओवादी केन्द्र समाजवादी) का केन्द्रीय सदस्य तिलक थापा, नेकपाका केन्द्रीय सदस्य अर्जुन कार्की र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जागृत रायमाझीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपाका रामलाल विकले गर्नुभएको थियो ।
