हरिप्रसाद सापकोटा, कलैया ।
राष्ट्रिय जनमोर्चा मधेस प्रदेशको प्रथम सम्मेलन सुरु भएको छ । जितपुर–सिमरा उपमहानगरपालिका–१४ को राजघट्टामा प्रदेश सम्मेलनको उद्घाटन भएको हो ।
राजमोका केन्द्रीय सचिव हिमलाल पुरीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा सम्बोधन गर्दै सचिव पुरीले मधेसवादी दलहरूले मधेसी जनताको समस्यालाई भन्दा आफ्ना दलीय स्वार्थलाई केन्द्रमा राखेको बताउनुभयो ।
उहाँले राष्ट्रिय जनमोर्चाले मधेसी जनताको समस्यालाई महत्त्व दिएर काम गरेको दाबी गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले आफ्नो समस्या समाधान गर्नका लागि मधेसका जनता आफै जागरुक हुनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
सम्मेलनलाई अखिल नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका हरिप्रसाद सापकोटा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सरस्वती कार्की, राष्ट्रिय जनमोर्चा सर्लाहीका श्रवणकुमार लोप्चन, राष्ट्रिय जनमोर्चा रौतहटका अध्यक्ष हरिकिशोर महतो, राष्ट्रिय जनमोर्चा बाराका अध्यक्ष जीवनकुमार भट्टराई, नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराई र अखिल नेपाल युवक सङ्घ बाराका अध्यक्ष कुलप्रसाद आचार्यले शुभकामना दिनुभएको थियो ।
सम्मेलनको उद्घाटन सत्रसँगै बन्दशत्र सुरु भएको छ । सम्मेलनको समापन भोलि हुने छ ।