जगदीश ढकाल, नेपालगन्ज ।
एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपालगन्जमा आठ राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् ।
एमसीसी संसदबाट पारित गर्ने षड्यन्त्रका विरुद्ध नेकपा (मसाल),राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतन्त्रीक मोर्चा लगायत बाँकेका आठ दलले संयुक्तरूपमा विरोध जुलुस तथा सभा सम्पन्न गरेका हुन् ।
नेपालगन्जको धम्बोझी चोकबाट सुरु भएको जुलुस ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, एमसीसीका विरुद्ध सम्पूर्ण वामपन्थी, देसभक्त तथा राष्ट्रवादीहरु एक हौँ’ भन्ने मूल नाराका साथ विभिन्न नारावाजी सहित घरबारीटोल हुँदै सदरलार्इन त्रीवेणी मोडमा पुगि विरोध सभामा परिणत भएको थियो।
विरोधसभामा राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भीमप्रसाद देवकोटा, नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डीबी शाही, नेकपा (क्रान्तिकारी माओवादी) का लक्ष्मी चौलागाईं लगायतका वक्ताहरुले सरकारले संसदबाट एमसीसी पास गर्ने षडयन्त्र गरेको र त्यो राष्ट्रघाती र नेपालको सार्वभौमसत्ता विरुद्ध हुने भन्दै त्यस्तो षडयन्त्र बन्द गर्न चेतावनी समेत दिनुभएको थियो ।
अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिल्ली क्षेत्रीको सञ्चालनबाट अघि बढेको विरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज तेजविक्रम शाही, नेकपा बाँकेका सेक्रेटरी अनिल, राष्ट्रिय जनमोर्चा बाँकेकी सचिव माला केसी, अखिल (छैठौं) बाँकेका अध्यक्ष नमराज चन्द लगायत नेता कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।