बुटवल । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, महंगी र सीमा अतिक्रमणविरुद्ध रुपन्देहीमा संयुक्त विरोध प्रदर्शन गरिएको छ ।
बुटवलमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय राजमोका केन्द्रीय सदस्य बद्रे आलमले शासकहरुले अमेरिकी परियोजना एमसीसी पास गर्ने प्रयत्न गरेपनि नेपाली जनताको सचेत आन्दोलनले त्यो असफल पार्ने बताउनु भयो ।

उहाँले विगतको जहाँनिया राणा शासन र राजतन्त्र नेपाली जनताको आन्दोलनले अन्त्य गरेको इतिहास सम्झाउँदै पटक पटक देशका राष्ट्रघाती शासकहरूले देश र जनताप्रति गद्दारी गर्ने गरेकोले कतै एमसीसीमा पनि यो दोहोरियो भने नेपाली जनताले अमेरिकी साम्राज्यवादसँगै शासकलाई सीमा कटाउने दाबी गर्नुभयो ।
जेसिस चौकमा सम्पन्न संयुक्त विरोध सभालाई नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम प्रेम सुवेदी, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कृति, नेकपा (माले)का स्थायी समिति सदस्य गोपालमणि दीक्षित, माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष विनोद उपाध्याय, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालकी जिल्ला सचिव भगवतीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) र देजमो नेपालको पनि सहभागिता थियो । कार्यक्रमको सञ्चालन राजमो रूपन्देहीका सचिव टानबहादुर केसीले गर्नुभएको थियो ।