मलेसिया । नेपाली राजदूतावास, मलेसियाले विद्युतीय राहदानीको सुरुवात गरेको छ । बुधबार एक कार्यक्रमका बीच विद्युतीय राहदानीको सुरुवात गरिएको हो ।
लामो समयदेखि मलेसियामा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको दूतावासले जनाएको छ ।
राहदानी विभागबाट उनको राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको छ। दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्रोलमेन्ट गरेको छ।
राजदूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने जनाएको छ।
विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै, नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक श्री एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो । सो कार्यक्रममा कार्यवाहक राजदूत श्रीसले सेवाग्राहीको चापलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राहदानी विभागका महानिर्देशक अर्यालले उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद दिँदै अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताउनुभयो ।
मलेसियामा हाल २ लाख भन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध छन् ।