• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हरिनाथ (कथा)


  •   आइतबार, माघ २३, २०७८ मा प्रकाशित
  • लक्ष्मण बेल्बासे ##
    पश्चिम पहाडको सानो गाउँ । भर्खरै सडकसँग जोडिँदै गरेको गाउँ । बाटोसँगै जोडिएर आएका अवसर र चुनौती दुवै । गाउँलेहरूमा उत्साह थपिएको छ ।

    Advertisement

    उता, भर्खरै आएको प्रजातन्त्र । गाउँमा पनि नौला कुरा धेरै आएका छन् । भएका छन् । कोटमा दसैँमा निकाल्ने फरहरा जस्तै विभिन्न पार्टीका झन्डा घरघरमै फहराएका छन् ।

    झन्डाले पनि विभाजनको सङ्केत दिने गर्दछ । कोही काङ्ग्रेसको, कोही कम्युनिस्ट । विद्यालय होस् या अन्य सार्वजनिक निकाय तथा सार्वजनिक कार्य–सर्वत्र यसको प्रभाव परेको छ । बुझेर/नबुझेर यसलाई आवश्यकताभन्दा बढी महत्त्व दिँदा गाउँ नै काङ्ग्रेस–कम्युनिस्टमा विभाजित भएको छ । मण्डले अर्थात् पूर्वपञ्चको अवस्था भागमभाग भएको छ । हिँजो मिठो सम्बन्ध भएका गाउँले दाजुभाइको सम्बन्धमै दरार आएको छ ।

    विद्यालय दुवै गाउँलाई पायक पर्ने गरी धेरै पहिले नै निर्माण गरिएको छ । विद्यालयमा बहुदल आउनुभन्दा पहिले गोप्य रूपमा राजनीति न चलेको त हैन । तर पनि आजभोलि व्यापक भएको छ । विद्यालय आजभोलि राजनीतिको केन्द्र हुन थालेको छ । शिक्षक–विद्यार्थी सबै विभाजित भएका छन् । हरेक राजनीति होस् या गैररानीतिक निर्णयको समर्थन र विरोधका ¥याली सबैभन्दा पहिले विद्यालयबाटै सुरु हुन्छन् ।

    विद्यालयको यस्तै अवस्थामा हरिनाथ पनि यही विद्यालयको जेहेन्दार विद्यार्थी हो । ७ कक्षामा पढ्दै गरेका हरिनाथ जेहेन्दार तथा अनुशासित भएकै कारण सबै विद्यार्थी सङ्गठनको आँखा परेको विद्यार्थी हो । नातागोता तथा पारिवारिक प्रभावमा हरिनाथ ८ कक्षा पठदै गर्दा कम्युनिस्ट विद्यार्थी बन्न पुगेको छ । साथीभाइको माझमा विस्तारै नेता हुन थालेको छ ।
    जेहेन्दार हरिनाथ अब उपलब्ध माक्र्स, लेनिनका कृति पढ्न थालेको छ । यति नै बेला उसका कति साथी पढाइ बिग्रन्छ भन्दै यस्ता पुस्तकबाट टाढा रहने गर्दथे । यसरी पढ्दै जाँदा तथा सङ्गठनको विभिन्न कार्यक्रममा सहभागी हुँदै गर्दा समाजका धेरै कुरा पनि बुझ्न थालेको छ ।

    साथीभाइको बिचमा समाजमा देखेका विभेद, दमन र अन्यायका कुराले विद्रोही जस्तै हुँदै गएको छ । अन्यायका विरुद्ध तुरुन्तै आवाज बुलन्द गरिहाल्ने हरिनाथ एसएलसीको तयारीसँगै एक विद्यार्थी नेता बनिसकेको छ । विद्यार्थीको जिल्ला नेता बनिसकेको छ । अब एसएलसी पनि पास गरेको छ । काठमाडौँको प्रतिष्ठित क्याम्पसको विद्यार्थी भएको छ ।

    उमेरले तथा राजनीतिक जिम्मेवारी वहन गर्दै गर्दा आज हरिनाथ परिपक्व हुँदै गएको छ । उसको इमान्दारिता तथा निष्ठावान चरित्रले उसले पढ्ने क्याम्पसमा समेत छुट्टै परिचय दिएको छ । सङ्गठनले दिएको जिम्मेवारी तथा उसको विद्रोही स्वभावले गर्दा अब हरिनाथ देशव्यापी विद्यार्थी नेता भएको छ । उसलाई उसको आफ्नो नेतृत्वप्रति पूरा विश्वास लागेको छ ।

    उसले कम्युनिस्ट घोषणापत्र पढेको छ । विभेदको कारण थाहा पाउन थालेको छ । समानताका लागि अन्यायको विरुद्ध जुट्नैपर्ने बुझेको छ । माक्र्स, लेनिन र माओ मन पर्न थालेको छ । सदियौँदेखि समाजमा चल्दै आएका रीतिथिति तथा बेथिति सबै उत्पीडनका कारण लाग्दछ । अब उसलाई यी सबै पुराना मक्किएका रीतिथिति भत्काएर नयाँ समाजमा समानता ल्याउन सघाउने माक्र्सले भने जस्तै समाजवादी नयाँ रीतिथिति बसाउन मन लागेको छ ।

    अब ऊ यस्तो परिवर्तन ल्याउन जस्तोसुकै कठिन लडाइँ लड्न पनि मानसिक तथा शारीरिक दुवै रूपमा आफू तयार भएको ठान्दछ । आफैले लिँदै गरेको कलेजको शिक्षामा पनि विश्वास लाग्न थालेको छैन । वैयक्तिक जीवनको लाभहानिको मात्र कुरा गर्ने नोकरशाही उत्पादन गर्ने कारखाना जस्तो लाग्न थालेको छ । अब यहाँका कलेजले दिने शिक्षा बुर्जुवा शिक्षा लाग्न थालेको छ र यस्तो शिक्षाबाट समाजमा सकारात्मक परिवर्तन तथा रूपान्तरण आउने विश्वास हराएको छ । अब यस्तो शिक्षामा रुचि लाग्न छोडेको छ ।

    अब आफ नेताका सबै कुरा ठिक लाग्न थालेको छ । हरिनाथ अब आफ्नै घरमा नअटाउने भएको छ ।

    माक्र्सका कृतिको प्रभाव तथा आफ्नैअगाडि समाजमा हरेक पाइलामा सोझासिधा गरिब, किसान, मजदुर तथा विभिन्न जातपातको नाममा होस् या लिङ्गभेदको कारण होस्, आफ्नै दाजुभाइ तथा दिदीबहिनी लुटिएको, ठगिएको देख्दा उसको अन्तर्मनमा विद्रोह को ज्वाला दक्किने गर्दछ । भाग्यकै कारण गरिब भएको तथा दलितको घरमा जन्म लिएरै अछुत भएको भनेर न्याय गर्ने धर्मप्रति पनि विश्वास हराउँदै गएको छ । मन्दिर देख्दा लाग्छ, शोषणका आधार यिनै हुन् र देख्दै यिनको अस्तित्व हटाइदिऊँ जस्तो लाग्दछ ।

    चली आएको रीतिथितिप्रतिको अनादर तथा मूर्तिप्रतिको त्यो अविश्वास हरिनाथ घरभित्रै पनि नमिल्ने भएको छ । आफ्नै घरभित्र आफ्नै बाआमाले सुनपानी छर्कने भएको छ ।

    अब भने परिवर्तनप्रतिको उसको अपेक्षा झनै दृढ हुन थालेको छ । विद्रोह घरबाटै सुरु गरेको हरिनाथलाई परिवर्तनको सुरुवात पनि घरबाटै गर्नुपर्ने ज्ञान पनि मिलेको छ । आज केही समय घरभित्रै एक्लो परेको हरिनाथ भोलि देशभरि नै एक्लो हुने छ र पर्सि घरबाटै परिवर्तनको सुरुवात हुने र शाश्वत सत्यलाई सबैले स्वीकार्नैपर्ने छ । अर्को दिन, सबैले सत्यको सामना गर्दा आफै सबैको माझमा हुने विश्वास पनि जागेको छ । अन्याय विरुद्धको अभियानमा एक दिन पक्कै सबै गरिब, किसान, मजदुर र विभिन्न बहानामा दलनमा परेका अन्याय र उत्पीडनमा परेका जनता उसको पक्षमा लामबद्ध हुने कुरामा ऊ ढुक्क भाएको छ । परिवर्तन अवश्य आउने छ । विश्वास बढेको छ । यस्तै विश्वास लिएर बुढाबुढी आमाबालाई घर छोडेर सहर आएको हरिनाथ काठमाडौँ आएको पनि फेरि एक वर्षभन्दा धेरै भइसकेको छ । अरूचिकै कारण उच्च शिक्षा पनि बिग्रिएको छ ।

    अब त भाइ पनि कलेज पढ्ने भइसकेको छ । भाइलाई पढाउने खर्च दाइले उठाउने छ । बाआमाको यही विश्वास छ । मध्यम आय भएका हरिनाथका बाआमा खेतीकिसानीभन्दा बाह्य केही आम्दानीको स्रोत छैन । त्यसैले हरिनाथ हुर्केको छोरा आशा राख्नु स्वाभाविक पनि थियो । देशभरिकै अन्याय, विभेद र उत्पीडनमा परेका सबै दाजुभाइ तथा दिदीबहिनीको न्यायको भार उठाउन तयार हरिनाथ व्यवहारमा भाइ पढाउने आर्थिक भार उठाउन असक्षम छ । नेता बनेको हरिनाथ देशव्यापी बनेको छ । सबैले चिन्ने भएको छ । पत्रिका होस् या रेडियो टेलिभिजन सबैमा देखिने सुनिने भएको छ । नेपाल बन्द होस् या अन्य अन्याय विरुद्ध हुने आन्दोलनको अग्रणी भागमा उही हुने गर्दछ ।

    देशभरि नै दसैँको लहर छाएको छ । यही बेला हरिनाथ पनि गाउँ फर्किएको छ । भौगोलिक रूपमा विकट तर प्राकृतिक रूपमा सुन्दर आफ्नै गाउँ रमाइलो हुने नै भयो । ज्यानै जोखिममा राखेर चल्ने गाडी । तिनै चलती गाडीमा झुन्डिएर स्कुल जाने केटाकेटी । अब गाउँ पनि सङ्क्रमणमा पर्न थालेका छन् । मौलिकता हराउँदै जाँदा भद्दा नक्कलको प्रभाव बढेको छ ।

    अहिले त गाउँमा बोर्डिङ स्कुल पनि खुलेको छ । हरिनाथ दङ्ग पर्छ । विद्यार्थीको पोसाक हेरेर बाउको आर्थिक हैसियत थाहा हुने शैक्षिक व्यापारको सुरुवात गाउँमा पनि भएछ । विभेदकारी शैक्षिक प्रणालीको विरुद्धमा सहरमा टायर बालेर थकित हरिनाथ पुँजीवादको प्रभाव गाउँसम्मै भेटाउँछ । राज्यको लगानीको उत्पादकत्व कसैले खोजेको छैन । सरकारी विद्यालय उपेक्षित भएका छन् । राज्यको लगानी यसै बगेको छ । शैक्षिक असमानताको कारखाना गाउँमै खुलेको छ ।

    दसैँको बेला साथीभाइ, नातागोता सबैलाई भेट्दा मनमा थप ऊर्जाको भरिएको छ । हरिनाथ गाउँ डुलेका छन् । सबैलाइ भेटेका छन् । गाउँ दसैँसँगै सजिने तयारीमा छ । लिपपोतको ठाउँ सिमेन्ट र आधुनिक रङले लिएको छ । सबैका घरका छाना फेरिएका छन् । लाग्छ, रेमिट्यान्सले गर्दा सबैका गोजी भरिएका छन् ।

    मध्यमवर्गका किसान हरिनाथका बाको पनि कृषिबाहेक अन्य केही आयस्रोत छैन । हरिनाथको घर अरूको जस्तै सजिन पाएको छैन । पुरानै शैलीमा पोतिएको छ । खरको छानो पुरानै छ । भएको नगद पनि हरिनाथले नै काठमाडौँको पढाइ खर्चमा सक्काइसकेका छन् । बाको अनुहारमा पनि आर्थिक सहयोगको अपेक्षा नदेखिएको होइन । तर बुढाले व्यक्त गरेका छैनन् । हरिनाथले बाआमाको अनुहार सरसर्ती नपढेका होइनन् तर पनि मौन बस्छन् । निजी सम्पत्तिलाई महत्त्व दिनुहुँदैन भन्ने कुराबाट दीक्षित हरिनाथ यी कुराले खासै प्रभावित हुँदैनन् ।

    समानताको लडाइँमा जब हाम्रो विजय हुने छ; सबै कुरा आफै सामान्य हुने छ—यही कुरा हरिनाथले बुझेको छ । यसरी हरिनाथ बुबाआमाको अनुहारमा खुसी नछोडी दसैँ सकेर फेरि पार्टीकै काममा फर्किएका छन् ।

    लाग्छ, बाआमाले पनि ऊबाट आशा मरिसकेका छन् । त्यसैले होला, कान्छालाई जिल्लामै रहेको कलेज पढाउने विचार गरेका छन् । हरिनाथ दसैँको रमाइलो सक्काएर फेरि पार्टीकै काममा जोडिएका छन् । जिम्मेवारी पूरा गर्दैछन् ।

    पार्टीमा पनि अर्को मेला सुरु भएको छ । केन्द्रीय कमिटीको विस्तारित बैठक सुरु भएको छ । ठुला ठुला लडाइ र परिवर्तनका बहस भएका छन् । क्रान्तिकारी पार्टी सशस्त्र युद्धमा जाने भएको छ । लडाइँबाटै बुर्जुवा सामन्ती व्यवस्थाको अन्त्य गरेर जनवादी सत्ता निर्माण गर्ने पार्टी योजना पास गरेको छ । हरिनाथकै चाहनाअनुकूल पार्टी शस्शत्र विद्रोहको दिशा पास गरेर अगाडि बढ्ने निर्णयमा पुगेको छ । अब हरिनाथ पनि पार्टीकै नेता भएका छन् ।

    महाधिवेसनको कार्यदिशाअनुकूल पार्टी सशस्त्र युद्धमा होमिएको छ । युद्धको तयारी सुरु भएको छ । गाउँबेसीमा भर्ती खुलेको छ । गोपनीयताको पालना गर्दै अब ठाउँ ठाउँमा लाल सेनाले तालिम लिन थालेका छन् । बारुद र गोलीको गन्ध गाउँभरि फैलन थालेको छ । जनमुक्ति सेना र सरकारी फौजको जम्काभेट हुन थालेको छ । मार्ने र मर्ने सामान्य हुन थालेको छ । देशैभरि त्रास फैलिएको छ ।

    हरिनाथमा हाम्रो विजय निश्चित छ भन्ने दृढ विश्वास अहिले पनि उत्तिकै छ । उसलाई लाग्छ, अब छिट्टै देशैभरि लाल झन्डा फहराउने छ । जनमुक्ति सेनाको विजयको हुङ्कारले सामन्तको मुटु हल्लिने छ । सर्वहाराको अधिनायकत्व भएको जनवादी सत्ता निर्माणमा कोही बाधक हुने छैन । आमूल परिवर्तनको सुरुआत त्यहीँबाट हुने छ ।

    जनयुद्ध चर्किएको छ । मर्ने र मार्ने क्रम चलिरहेको छ । न मार्ने कोही पराइ हो, न मर्ने नै पराइ थियो । सबै उस्तै वर्गका र उस्तै अवस्थाका थिए । कोही पेट पाल्ने बाध्यतामा यथास्थितिको पक्षमा थिए† त्यो पनि कति बुझेर, कति पेटकै बाध्यतामा बन्दुक बोकेका थिए । कति त आफै मरे पनि पेन्सन श्रीमती, बालबच्चाले पाउने आशमा ज्यानको बाजी लगाएर भिडेका थिए ।

    यता, पनि अवस्था उस्तै थियो । कति सैद्धान्तिक कुरा बुझेर त, कति यही मौकामा चौका हान्ने सोचमा थिए, त कति नेतृत्वप्रति पूर्ण विश्वास गर्दै आमूल परिवर्तन हाम्रै पालामा आउने छ र समानता र सम्मानित जीवन यही युगमा जिउने कुरामा विश्वस्त थिए । कैयौँ सँगैका साथी आफ्नै अगाडि ढल्दा महान् योद्धा र वीर सहिदको पगरी गुथाएर बिदा गर्दा पनि त्यो परिवर्तनप्रतिको विश्वास त्यो नेतृत्वप्रति को विश्वास दृढ थियो । ती अङ्गभङ्ग हुने तथा परिवारका सबै सदस्य परिवर्तनको लडाइँमा आहुति दिएर एक्लै परेका सबै महान् योद्धा भोलि हाम्रो सत्ता आउँदा सम्मानित जीवन जिउन पाउने छन् । हाम्रा सन्तान विभेदरहित समाजमा हुर्कन्छन् भन्ने आशमा हरिनाथ आज पनि शाही सेनाका विरुद्ध खनिएका छन् ।

    देशैभरि अन्त्यहीन लडाइ चलिरहेको छ । अवस्था हार न जितको बन्दै गइरहेको छ । यही भोगाइबाट हरिनाथ पनि गुज्रिरहेको छ ।

    विद्यार्थीबाट युवक बनिसकेको छ । यो अन्त्यहीन लडाइँले बाआमा, हजुरबा–हजुरआमा र आफन्त सबै बिर्साइदिएको छ । सम्झँदा पीडा हुने बनाएको छ । न एक्लै घर जान सक्ने अवस्था छ, न त गएर फर्कने अवस्था नै छ । त्यसैगरी कैयौँ वर्ष बिते । कति उस्तै साथी मारिए, कति उस्तै साथी मारियो । बन्दुकको गोलीले केही भेद छुट्याउने क्षमता प्रदर्शन गरेन, खालि पड्किरह्यो ।

    धेरै पछि युद्धविराम भएको छ । यो अन्त्यहीन युद्धको अन्त्यको सम्भावना नेतृत्वबाट देखिन थालेको छ ।

    आज हरिनाथलाई अलिकति फुर्सद मिलेको छ । बन्दुक पर राखेर खाना खाएको छ । फुर्सदमा सबै कमरेडहरू निरस देखिएका छन् । सपनाबाट ब्युँझिए जस्ता देखिन्छन् ।

    हरिनाथ पनि बन्दुक परै छोडेर एक्लै छहारीमा पुगेका छन् । घरको सम्झना आएको छ । चौरासी गर्न पाएनौँ भन्दै गुनासो गर्ने हजुरबा र आमा आँखैअगाडि आएका छन् । आमाको ममता, बाको स्नेह सबै कुरा भेल बनेर आँखैअगाडि उर्लिएका छन् । चौरासी काटिसकेका हजुरबा–आमा सम्झन्छन् । प्रेम र विश्वासको आदर्श नमुना भेटाउँछन् । दुवै जना कान पटक्कै सुन्दैनन् । तर पनि हजुरआमाको स्वास्थ्य अवस्था हजुरबाले नाडी छामेर पत्ता लगाउँछन् ।

    हरिनाथ अनौठो मान्दछ । कति सँगीसाथी कति दुस्मन साथी जिउने आशा बाँकी हुँदै खाल्डोमा हालियो ? कतिका अङ्ग अङ्ग टुक्र्याएर आततायी मृत्युदण्ड दिइयो । ढुङ्गा जस्तै भइसकेको हरिनाथलाई हजुरबा र हजुरआमाको त्यो अव्यक्त प्रेमको सम्झनाले कता कता पुर्याउँछ । मानवता के हो र युद्ध धर्म के हो जस्ता कुराले सताउन थाल्दछ ।

    परिवर्तनको आशमा कतै अन्यायपूर्ण र क्रुरताको पराकाष्ठा आततायी त भइएन ? आफ्नै मनमा उब्जिएका प्रश्नको उत्तर खोज्न थाल्दछ । प्रेम के हो ? मनको कुनै कुनाबाट अङ्कुराउन थाले जस्तो महसुस हुन्छ । परिवर्तनको नाममा धेरै जड भए जस्तो लाग्छ । दुस्मनको नाममा गुरुहत्या । ती फटाह भनिएका गाउँका सामान्य मान्छे, जो गाउँमा केही टाठाबाठा देखिन्थे; जो बाउको सम्पत्ति सकेर ठालु बन्थे । अधिकांश खुकुरी यिनैमाथि तेर्सिए । जो मारिए, ती पनि हामी जस्तै गरिब थिए । जो मरे, ती पनि उस्तै थिए । जो मरे, तिनमा विद्रोहको ज्वाला भड्केको थियो । परिवर्तनप्रतिको दृढ विश्वास थियो । जो मारिए, ती पनि परिवर्तन विरोधी थिएनन् । गरिबी र अभाव नै मृत्युसँग साक्षात्कार गराउने एउटा मात्र कारण थियो । जो भ्रष्ट थिए, साँच्चिकै सामन्त थिए† उच्च पदस्थ नोकरशाही थिए† जो साँच्चिकै परिवर्तनका विरोधी थिए; परिवर्तनका बाधक थिए; तिनीहरू अहिले पनि राज्यको स्रोतसाधनमाथि राज गरिरहेका छन् । उनीहरू अहिले पनि उसैगरी बाँचेका छन् । न त जनयुद्धको गोली नै त्यहाँसम्म पुग्न सक्यो, न योद्धाको खुकुरी नै तिनीहरूको गर्धनसम्म पुग्न सक्यो । अवस्था उस्तै छ; व्यवस्था उस्तै छ; फेरि पनि नेतृत्व युद्धविराम गरेर वार्ताको माध्यम खोजेको छ । हरिनाथलाई अनौठो लाग्छ ।

    आमूल परिवर्तनको कार्यभार पूरा गर्ने जनवादी राज्यसत्ता वार्ताबाट र सम्झौताबाट आउने भए यति ठुलो लडाइँ केका लागि भएको हो ? नेतृत्वप्रति नै शङ्का जागेर आउँछ हरिनाथलाई । साथीहरूसँग छलफल गर्न खोज्छ हरिनाथ । सबैमा अन्योलता मात्रै भेटाउँछ ।

    भरपेट निदाउँदै थकाइ मेटिरहेका योद्धाहरूले हप्तौँ बितेको पनि पत्ता पाएनन् । त्यसैगरी क्यान्टनमेन्टमा धेरै हप्ता बितिसकेका छन् । हल्ला धेरै चलेका छन् । कहिले यो त एउटा शक्तिसञ्चयको तयारी मात्र हो । अझै ठुलो लडाइँ बाँकी छ भन्ने खबर आउँछ त, कहिले हतियार बुझाउने प्रपन्च भएको कुरा । यस्तै अन्योलमा लडाकु थुनिएका छन् ।

    आज एकाएक सरकार र विद्रोही पक्षबिच वार्ता सम्पन्न भएको र जनयुद्ध सकिएको घोषणा भएको छ । सबै जना आश्चर्यचकित भएका छन् । नेतृत्वको तत्कालीन राज्यसत्तालाई अल्मल्याउने नीतिको रूपमा बुझेका योद्धा र नेतृत्वले पुरानै सत्तासँग कुममा कुम मिलाएर फोटोसेसन गरेको देख्दा युद्धमोर्चाभित्रै ठुलो बम पड्किए जस्तो महसुस गरेका छन् । सबै जना उद्देश्यविहीन जस्तै भएका छन् ।

    माउँँ नेताले आश्वासन बाँडेका छन् । सबैको उचित व्यवस्थापन हुने छ । हरिनाथ पनि केही दिनको उकुसमुकुसको बसाइँपछि लुरुलुरु क्यान्टोमेन्टबाट निस्किएका छन् । लडाइँको बेलाको उसको नजिकैको साथी बन्दुक पनि अब ऊसँग छैन । उसको परिचय ऊसँग अब मात्र कम्ब्याट छ । क्यापमा रहेको रातो तारालाई हेर्छ र प्रति प्रश्न गर्छ । जस्तो अवस्थामा पनि निरन्तर आकाशमा चम्किरहने तारालाई पनि चम्कन अँध्यारो नै चाहिने रहेछ । उज्यालोमा पनि जल्न बत्ती नै हुनुपर्ने रहेछ । जो आफै जलेर दिनमा पनि आफू हुनुको परिचय दिइरहन्छ । उसलाई लाग्छ, ती अङ्ग भङ्ग भएर पनि परिवर्तनको आशामा युद्ध लडिरहने योद्धा तथा जीवन गुमाइसकेका योद्धा ती सबै बत्ति नै थिए, जसले आफै जलेर क्रान्तिलाई अगाडि बढाए ।

    नेतृत्वको वास्तविकता र क्रान्तिको अवस्था दुवैमा अन्तरविरोध देखिन थालेको छ । युद्ध सम्झौतामा टुङ्गिएको छ । क्यान्टनमेन्टको बसाइ, अन्योल भविष्य हरिनाथ आफैलाई अल्मलिएको यात्री जस्तो लाग्छ । सकिएको भनेको लडाइँ जारी राख्न मन लाग्छ । हिजो देशभित्र गरेको विद्रोह पार्टीभित्रै गर्न मन लाग्छ । अन्तर्मन भन्छ, मकै चड्किएर हाँडी फुटाउन सक्दैन । अब पनि नेतृत्वको निर्देशनलाई परिपालन गर्नुको विकल्प भेट्दैन ।

    क्यान्टनमेन्टबाट आफ्ना बाध्यात्मक रोजाइ रोजेर सबै योद्धा निस्किएका छन् । समय आफ्नो काम गरिरहेको छ । युद्ध जितेर होइन, पुरानै बुर्जुवा चुनाव लडेर पार्टी र नेतृत्व सत्तासिन भएको छ । नीतिसिद्धान्त र विचार म्याद सकिएको औषधि जस्ता भएका छन् र पनि हरिनाथ अहिले पनि त्यही पार्टीको नेता हो । अहिले पनि परिवर्तन र समानताको कुरा गर्न छोडेको छैन । तर पनि यी दुवै कुरा अब यही नेतृत्वबाट सम्भव जस्तो पनि लाग्दैन ।

    जनयुद्धमै जनयुद्धलाई नै प्रयोग गरेर लुटपाटमा संलग्नमा आएको रूपान्तरण हेर्न योग्य नै देखिन्छ । सबै नवधनाढ्य भएका छन् । सत्तामै हुनेको झनै ठुला रवाफ छन् । सुटटाई त के घडीदेखि गाडीघोडाको प्रतिस्पर्धा चलेको छ, पालो फेरिएको छ । राज्यको साधनस्रोत दोहन गर्ने जिम्मा हाम्रै पार्टीमा पनि आएको छ । क्रान्तिकारी मूल्य र मान्यता यिनै कुराले विस्थापित हुन थालेका छन् । नयाँ मूल्य र मान्यताको विकास भएको छ र पनि नेता भइरहँदा भित्रभित्रै हरिनाथलाई अव्यक्त पीडा भइरहेको छ । फेरि पनि पार्टीलाई क्रान्तिकारी दिशामा फर्काउन सकिन्छ कि भन्ने झिनो आशा बाँचेको छ । केही इमान्दार साथीहरूमाझ छलफल चलेको छ । पार्टी अन्तरसङ्घर्ष जारी छ ।

    नवपार्टी प्रवेशको लस्कर चलेको छ । तस्करदेखि डनको पार्टी अब यही पार्टी भएको छ । हिँजो जनयुद्धको विरुद्धमा अर्को युद्ध चलाउनेहरू नेता भएका छन् । आज तिनीहरूभन्दा क्रान्तिकारी अरू पुराना कोही नेता छैनन् । जसले जति धेरै पैसा जम्मा गरेर खोलो बगाउन सक्दछ, उही मात्रै नेता हुने निश्चित भएको छ ।

    हरिनाथ हिजोआज नियालेर हेर्छ । हिँजोमा मात्रै आफूलाई पाउँछ । जो परिवर्तनका लागि मार्न र मर्न तयार थिए । तिनैको भिडमा आफूलाई भेटाउँछ । आज त्यो भिड तितरबितर भएको छ । नयाँ भिडमा हाँसको बथानमा कोइली जस्तो लाग्छ आफूलाई । यो भिडमा आफ्नो परिचय नै नमिल्ने जस्तो लाग्छ ।

    कैयौँ साथी भिडबाट अलग्गिन थालेका छन् । जसजसले लिन सक्थे, लिइसकेका छन् । अघाएको किर्नो आफै आङबाट झरे जस्तै हुन थालेको छ । उपियाँ सर्दै आउन थालेका छन् । उपियाँको चुरीफुरी बढेको छ । हरिनाथ आफै अनौठो मानेको छ ।

    यस्तै अवस्थामा फेरि चुनाव आएको छ । चुनावको लहर देशैभरि चलेको छ । पहिले पहिलेका चुनाव जस्तै यसपालि पनि उस्तै हुने छ । क्रान्ति र परिवर्तनका कुरा मञ्चमा मात्रै हुने छ । फेरि पनि जनता झुक्याउने र जनताले नेता झुक्याउने खेल राम्रैसँग हुने छ । इमान्दार नेता पछाडि पारिने छन् । नवधनाढ्य अग्रभागमा हुने छन् । यहाँ भोट पनि अर्थात् मत पनि धेरैपटक बिक्री हुने गर्दछन् । जसले धेरै मूल्य दिन सक्छ, उसैको हुने गर्दछ । त्यसैले जसरी भए पनि पैसा कमाउँनु पर्छ र सबै हत्कन्डा चुनावमै प्रयोग गर्नुपर्दछ । हिँजो जुन व्यवस्थाको विरुद्ध हजारौँ सहिद भए† हजारौँ अङ्गभङ्ग भए, आज त्यही व्यवस्थाभित्र त्यही बुर्जुवा चुनावमा पार्टी सम्पूर्ण शक्ति लगाएर होमिएको छ ।

    यही सिलसिलामा हरिनाथ गाउँ फर्किएको छ । चुनावी सभा चलिरहेका छन् । हरिनाथ आज आफ्नै घर पुगेको छ । पुरानो घर, वृद्ध बाआमा पुरानै अवस्था । बाआमा छोरो आएकोमा खुसी हुन्छन् । कान्छो भाइ युद्धविरामपश्चात कतार गएको छ । नजिकैको सहरमा केटाकेटी पढाउन भन्दै बुहारी बसाइँ सरेकी छिन् । कमजोर आर्थिक अवस्था, वृद्ध बाआमा ।

    हरिनाथले जवानी युद्धमै खर्चेका छन् । विवाह भएको छैन । गाउँभरि सबैका घरका छाना फेरिएका छन् । हरिनाथको घरको अवस्था खर मात्रै पनि बाआमाले फेर्न सकेका छैनन् । बर्खामा पनि चुहिएको पानीको असर भित्ताभरि देखिएका छन् । बैदेसिक रोजगार फस्टाएको छ ।

    गाउँमा आएको परिवर्तनले हरिनाथको घरलाई चुनौती दिएको छ । बुबाआमासँगै खाना खाएर सुतेको हरिनाथ चाँडै उठेका छन् ।

    बिहानै मुख धोएर गाउँ डुल्न निस्किएका छन् । हिँजो आफ्नै काकामामा, जो गाउँमा अरूभन्दा धनी थिए । सबै जनकारबाहीमा परेका थिए । कतिका घाँटीमा योद्धाका खुकुरी पुगेका थिए । कति गाउँ छोडेर भागेका थिए । ती धेरै गाउँ फर्किसकेका छन् । ती सबैको नजरमा हरिनाथ उनीहरूका अपराधी हुन् । त्यसैले सबैले आँखा तरेर हेर्न थालेका छन् । लाग्छ, हरिनाथ उनीहरूको अपराधी हो । उनीहरूको रिस अझै मरेको छैन । बदलाको आगो उनीहरूको आँखामा अझै पनि बलिरहेको छ । हरिनाथ सहजै अनुमान लगाउँछन् ।

    डुल्दै हिँजो आफैले परिवर्तनको सपना बाँडेको गरिब, अनि दलित बस्तीमा पुग्दछन् । सबैको अवस्था उस्तै छ । एकदुई जना दाइहरूसँग भेट पनि भएको छ । लडाइँको सकारात्मक केही प्रभाव त्यहाँ देखिएको छ । तथाकथित दलित पनि सबैसँग आँखा जुधाउन सक्ने भएका छन् । सार्वजनिक ठाउँमा जातीय विभेदको काम गर्ने हिम्मत सबैमा हराएको छ । गएको दसैँमा सबै दलित सामूहिक मन्दिर प्रवेश गरेका छन् । तर पनि आर्थिक तथा सामाजिक रूपान्तरण केही हुन सकेको छैन । जनयुद्धको परिणामले उनीहरूको गरिबी र आर्थिक रुपन्तरणमा केही योगदान पु¥याउन सकेको छैन । जसका नाममा त्यति धेरै बलिदान भए, तिनकै अवस्थामा केही परिवर्तन ल्याउन सकिएन । हरिनाथलाई खिन्न लाग्छ । आफू झुटो साबित भएको महसुस हुन्छ । उनीहरूका पेसा बदलिएका छैनन् । साहुको खेतमा काम गर्ने तौरतरिका बदलिएको छैन । चेतना अभिवृद्धि भएको छैन ।

    एकैछिनको बसाइँमै त्यही बस्तीबाट युद्ध लडेका योद्धा कमरेडसँग पनि भेट हुन्छ । उनी पनि लडाइँमा अङ्गभङ्ग भएका कमरेड रहेछन् । उपचार खर्च भनेर राज्यबाट सामान्य खर्चबाहेक केही पाएका रहेनछन् । अवस्था बिग्रिएको छ । गाउँमा सबै खान पुग्नेहरू उनलाई दुस्मन ठान्छन् । कमाइ खुवाउने एउटा ज्यान, त्यही पनि अङ्गभङ्ग भएपछि परिवार बिचल्लीमा परेको छ । केटाकेटी सानै छन् । श्रीमतीले ज्यालादारी गरेर गुजारा चलाएका छन् । सबै कुरा सुनेर, देखेर हिजो आफ्ना कुरा पत्याएर युद्धमा होमिएका तथा युद्धमा सहयोगी बनेका सबैलाई हेरेर वैराग्य जागेर आउँछ । गल्ती नगर्दा पनि गल्तीको भागिदार आफै भए जस्तै लाग्छ । हरिनाथ सबै कुरा मनन् गर्दै र नैतिक जिम्मेवारी लिँदै घर फर्किएका छन् ।

    गाउँमा आजै चुनावी सभा रहेको छ । त्यही मञ्चमा हरिनाथले पनि बोल्नुपर्ने भएको छ । पुरानै बुर्जुवा शैलीमा भोट माग्नुपर्ने भएको छ । आमाले पकाएको खाना खाईवरी सभातिर लागेका छन् । देश र जनताको अवस्था उस्तै छ । नवप्रवेशी कमरेडको जयजयकार गर्दै हरिनाथले हिँड्नुपरेको छ । पुराना पञ्चभन्दा नयाँ नवप्रवेशी कमरेडहरूको तडकभडक र जीवनशैली अझै उच्च छ ।

    मञ्चमा हरिनाथ पनि विराजमान भएका छन् । यो चुनावी मञ्च यो शैली सबै हेर्दा आफैलाई आफ्नै मञ्चले गिज्याए जस्तै लाग्छ हरिनाथलाई । उनलाई भाषण दिन पनि आँट पनि आउँदैन । कति झुटा आश्वासन बाँड्नु ? अब त सबै कुरा सबैलाई थाहा पनि त भइसक्यो । त्यही भएर त होला, भोट पनि उधारमा होइन, महङ्गो मूल्यमा नगदमै बिक्री हुन थालेको छ । विभिन्न झुटा आश्वासन र ठुलै भोजभतेर र तामझामसँगै चुनावी सभा पनि सकिएको छ । हरिनाथ फेरि पनि लुरुलुरु आफ्नै झुप्रेघरमै फर्किएका छन् ।

    ओछयानमा पल्टिएका छन् । निद्राले नजिक आउन डराए जस्तै गरेको छ । आँखा बन्द गर्दा पनि आँखाभरि त्यो गरिबसँगै दलित बस्ती घुमेको छ । ती क्रान्तिका लागि आफ्ना अङ्गै गुमाउँने कमरेडले झनै पछ्याउँछन् । पार्टीको निर्देशन फेरि पनि तिनै गरिब र दलित साथीहरूकै भोट किन्ने रहेको छ । उनीहरूको भोट हुन त कहिले नै दान हुने गरेको छ र ? कहिले खोसिएको छ ? कहिले किनिएको छ ? चेतनाको अभाव, अशिक्षा र गरिबीको प्रभाव सधैँ यस्तै हुने गरेको छ । न त जनयुद्धले फरक ल्याउन सक्यो, न त कम्युनिस्ट सरकारले । हिँजो खाएका कसम, दिएका परिवर्तनका आशा र देखाएका सपना सबै कुराले हरिनाथलाई निदाउन दिँदैन । तिनै सपनाको चाङले थिचिएर आफै पनि निस्सासिए जस्तै लाग्छ हरिनाथ लाई ।

    हरिनाथको निद्रा पुगेको छैन । उनी रातभरि नै निदाउन सकेका छैनन् । बिहानै उठेका छन् । गाग्रीबाट एक लोटा पानी सारेर तिर्खाएसरी पानि पिएका छन् र ? त्यही एक लोटा पानीले हातमुख धोएर आमा कति बेला उठ्नुहुन्छ ? पर्खिएका छन् । चरीको चिरबिरसँगै उज्यालो भएको छ । बाआमा दुवै उठेका छन् । गोठमा रहेको भैँसी पनि अब खान पाइन्छ भनेर खुसी भए झैँ गरेर मलमूत्र त्याग्दै जिउ मर्काएको छ । सँगैको पाडो दुध खान पाइन्छ भनेर खुसी भएको छ ।

    झिसमिसेमै उठेका बुढा भइसकेका बा खोरबाट बाख्रा निकालेर बाहिर ल्याउँछन्† भैँसीको गोबरसोत्तर गर्छन् र भित्रबाट बाल्टी लिएर भैँसी दुहुन थाल्छन् । पाडोलाई भैँसी पगार्न मात्र प्रयोग गर्छन् । फेरि पुरानै किलोमा ल्याएर बाँधिदिन्छन् । केही छिनको छटपटीपछि पाडोले फेरि घाँसतिर ध्यान दिन्छ । यतिन्जेल आमा पनि भैँसीलाई तातो पानी खुवाईवरी बाख्रालाई घाँस झुन्ड्याएर चिया पकाउन थालिसकेकी हुन्छिन् ।

    यी सबै कुरा एउटा दर्शक जस्तै बनेर हेरिरहेका हरिनाथलाई सधैँ देखि नै रहेको नौलो विषय त हैन तर एउटा कुराले प्रभाव पार्दछ । बाले पाडोलाई प्रयोग गरेर भैँसी पगारेका छन् । दुधजति आफूले लिएर मोही र पिठो घोलेर पाडालाई दिएका छन् । जब भैँसीले दुध दिन छोड्ने छ; पाडो काटिने छ ।

    यस्तै घोत्लिरहेका हरिनाथलाई यही बेला अमाले चिया खान बोलाउँदा झसङ्ग हुन्छन् । चियाको सुर्की लगाउँदै सोच्छन्– मान्छेले मान्छेलाई मात्र होइन, अन्याय गर्न पशुलाई त छोडेका छैनन् ।

    आमाले पकाएको त्यो मिठो चिया । त्यो आफै कमजोर, अनि बुढी भएर पनि आमाले दिने यो स्नेह, यो माया, आफू सबैतिरबाट सुरक्षित गराउने यो अनुभूति । हरिनाथलाई आफैले केही पनि कर्तव्य पूरा गर्न नसकेको अनुभूति भइरहेको छ । बाआमाको सपना खेर गए जस्तो लाग्दछ । हुन त हरेक गरिब किसान तथा विभिन्न विभेद र उत्पीडनमा परेका बा र आमाका सपना पूरा गराउन युद्धमा समेत होमिएका हरिनाथले कसैका पनि सपना पूरा गर्न नसक्नु उनको मात्रै दोष कहाँ थियो र ? उनी जस्तै कैयौँ हरिनाथको यहाँ यस्तै अवस्था रहेको छ ।

    बाआमा को अनुहारमा हेर्छन् । बाआमाले आशा पनि केही राखेका छैनन् । हरिनाथ पाउ परेका छन् । सेवा गर्ने एउटी श्रीमती र खेलाउने नातिनातिना पनि दिन नसकेका हरिनाथ आशीर्वाद लिएर अस्वाभाविक पाराले बिदा हुन्छन् । बाआमा परसम्म हेरिरहन्छन् ।

    आफूलाई दोषी जस्तै मानेर केन्द्र फर्किएका हरिनाथ । पार्टीकै काममा व्यस्त भएका छन् । आफ्नै पार्टी राज्यसत्तामा भए पनि तथाकथित कुनै पनि लाभको पद नलिएका हरिनाथ पार्टीले दिएको खर्चले गुजारा चलाउने गरेका छन् ।

    धेरै वर्षपछि पार्टीले फेरि महाधिवेशन गर्ने निर्णय गरेको छ । अब हरिनाथलाई यसैमा जुट्नुपरेको छ ।

    पार्टीको अवस्था भिन्दै भएको छ । पार्टीनेताको जीवनशैली र सत्तालिप्साले बुर्जुवा शैलीलाई पनि मात खुवाएको छ । तल्लो तहका इमान्दार नेता तथा कार्यकर्ता निराश भेटिन्छन्। पार्टी खुम्चिँदै गएको छ । नेता मोटाउँदै गएका छन् । जनयुद्ध लडेका योद्धा तथा सहिद परिवार असहाय भएका छन् । यी सबै कुरा महाधिवेशनबाट सम्बोधन गरिनु छ । तर अवस्था बेग्लै बनिसकेको छ । पार्टी इमान्दार नेता तथा कार्यकर्ताभन्दा उपियाँहरूको कब्जामा पुगिसकेको छ । महाधिवेशन औपचारिकतामा सिद्धिने अर्थात् कर्मकाण्डमै सकिने सम्भावना पनि अधिक रहेको छ ।

    पार्टी कार्यक्रमकै सिलसिलामा आज प्रचण्ड गर्मी हुने तराई पुगेका छन् । एउटा पुराना, कैयौँ लडाइँ सँगै लडेका कमरेड गोपीनाथको घरमा पुगेका छन् कमरेड हरिनाथ । ती कमरेड हरिनाथलाई भेट्दा धेरै खुसी मानेका छन् । साथीभाइमाझ सधैँ आदर्श बनेका हरिनाथ । सबैले आदर गर्ने पात्र पनि हुन् । ती पुराना मित्र पनि पहिले त पहाडतिरकै हुन् । अहिले पछि मात्रै तराई झरेका रहेछन् । त्यति बेलाका पनि टाठाबाठा नै थिए । अहिले पनि टाठै रहेछन् । आज पनि हरिनाथलाई गेटमै स्वागत गर्न पुगेका छन् । गोपीनाथको अहिलेको तराईको बसाइँ हेर्दा जमानाका जमिन्दारभन्दा धेरै भव्य रहेछ । हिँजो पहाडमा पेटभरि खाना नपुग्ने गोपीनाथको यो भव्य जीवनशैली देखेर हरिनाथलाई केही अनौठो लाग्दैन । यस्ता धेरै कमरेडलाई धेरैपटक हरिनाथले भेटिसकेका छन् ।

    दुवै जना राम्रैसँग गफिएका छन् । माक्र्सवाद र लेनिनवादको सम्पूर्ण खोक्रो व्याख्या भएको छ । हिँजो सैद्धान्तिक कुरा र व्यवहार मिलेन भनेर घण्टौँ विभिन्न समसामयिक तथा दूरगामी विषयमा बहस गरेर बिताउने गोपीनाथ आज त्यतातिर भने प्रवेश नै गर्न चाहँदैनन् । लाग्छ, उनी अघाएका छन् । सबै कुरा बुझिसकेका हरिनाथ पनि जोड गरेर प्रवेश गर्न चाहँदैनन् ।

    आजको यो आफ्नै कमरेडको घरमा राजसी मेजमानी राम्रै लागेको छ । सँगै लडेको पुरानो मित्रसँग हरिनाथलाई धेरै कुरा धेरै छलफल गरौँला भन्ने लागेको थियो । तर यिनै मित्र पनि समयसँगै फेरिसकेका रहेछन् । जनयुद्धको रापतापमा राम्रै जोहो गरिसकेका रहेछन् ।

    हिँजो सुरुङ र बङ्कर बनाएर भए पनि विस्तारवादी शक्तिसँग लड्नुपर्छ भनेर चर्का चर्का कुरा गर्दा लाग्थ्यो, यिनीभन्दा क्रान्तिकारी अरू को नै छ र ? तर आज तराईमा बस्दै गर्दा तराईबाटै पराइ भए जस्तै लाग्यो । त्यो भव्य महल । यो भव्य शयनकक्ष सबै कुराको व्यवस्थापन गर्नकै लागि विचलन त चाहियो नै ।

    पराइसँगै को उठबस र मित्रताले आफ्नै गोडामुनि सम्मै छिमेकीले आँठो मिच्दै आउँदा पनि नदेखे जस्तै गर्नुपर्ने बाध्यात्मक अवस्था आफ्नै मित्रहरूमा आइपरेको देख्दा हरिनाथ भावुक हुन्छन् । गोडामुनिको त्यो सुकुम्बासी बस्तीलाई गिज्याए जस्तो लाग्छ । उपहास गरे जस्तै लाग्छ ।
    हरिनाथ गोपीनाथको विलासी शयनकक्षमा पुगेका छन् । त्यो चौरासी व्यञ्जन । यो भव्य शयनकक्ष । हरिनाथको लागि नौलो कुरा होइन । तर पनि यो भव्य शयनकक्षमा उनलाई शान्ति मिल्दैन । छटपटी हुन्छ । कता कता आफू पनि अपराधको भागिदार भए जस्तै लाग्यो । उनै मित्रको पुछारतिर झुप्रामा बस्ने सीमान्तकृत गरिब किसानको भावनामा खेलेर उनै गरिब किसानका छोराछोरी युद्धको अग्रभागमा राखेर उनैलाई युद्धको मोहरा बनाएर आफ्ना अभीष्ट पूरा गर्न उद्यत मित्रका ती भव्य शयनकक्षबाट कति बेला निस्किहालौँ जस्तो लाग्न थाल्यो । भित्ता भित्ताबाट ती गरिब किसानको चित्कार सुनिन थाले जस्तै लाग्न थाल्यो ।

    हरिनाथनाथ लाई भ्रम हुन थाल्यो । भित्ता भित्तामा वीरगति प्राप्त सहयोद्धाको रगत पसिना लत्पतिएको जस्तै लाग्न थाल्यो । हरिनाथले छेउमै राखेको पानी पिए । केही शान्त हुने कोसिस गरे । तर पनि उनीभित्रको त्यो उकुसमुकुस भएको मन शान्त हुन सकेन । दिनभरिको साथीको त्यो उठबस, त्यो चालचलन सबै आफ्नो विचार र व्यवहारको प्रतिकूल लाग्यो । विपरीत लाग्यो । उकुसमुकुसमै हरिनाथको रात लाग्यो । बित्यो । झिसमिसेमै उठेर साथीसँग बिदा मागेर हिँड्न बाध्य हरिनाथ अलि पर पुगेपछि मात्रै आफू स्वतन्त्र भएको महसुस गर्छन् ।

    त्यहीँबाट पुछारतिरको बस्तीमा आँखा डुलाउँछन् । छाना च्यातिएका र ढल्नै आँटेका ती खाबा सबै उस्तै लाग्छ । जनयुद्धताका यी हरेक छाप्राका छाना फेरिने छन् । यी जनयुद्धका सेल्टरका वैभव फेरिने छ भनेर सपना बाट्दै आश्रय लिएका कैयौँ मित्रले त्यही छाप्रालाई गिज्याउँदै आलिसान महल आफ्नै लागि मात्र बनाए छन् । आफैलाई मात्र वैभवशाली बनाएछन् ।

    हरिनाथ ठुलो श्वास फेर्छन् । त्यही बस्तीतिर लागेका उनका खुट्टा लर्बराएका छन् । युद्धको बेला त्यही बस्तीभित्र छिर्दा अब बाचिचयो भन्ने लाग्थ्यो । झुपडी आफ्नै जस्तो लाग्थ्यो । झुपडी सुरक्षा कवच जस्तै लाग्थ्यो । आज त्यही बस्तीमा जान डर लागिरहेको छ । उनीहरूको आफू अपराधी जस्तै लागिरहेको छ । भित्रभित्रै भन्न मन लाग्छ, अरू बदलिए पनि म बदलिएको छैन । अझै आस मारेको पनि छैन । तपाईंहरूको न्यानो विश्वास अझै चाहिएको छ । मैले त भन्ने गर्थें, यो लम्बे यात्रा हो । यो यात्रामा कोही पछाडि छोडिन्छन् । कोही सँगै हिँड्न नसक्ने हुन्छन् । कसैले बाटो बिराउउँछन् त कोही बिच बाटोमै यात्रा सकियो भनेर रमाउँने छन् । तर पनि परिवर्तनको यो लम्बे यात्रा कठिन हुने छ । कति ठाउँमा असत्यलाई सत्य ठानेर भ्रमित भइने छ । यात्रा यस्तै भएको छ । मलाई हेर कमरेड, म अझै थाकेको छैन । मैले अझै हारेको छैन । बाटो घुमाउँरो अवश्य बनेको छ । तर गन्तव्य बिर्सिएको छैन । गन्तव्य बदलेको छैन ।

    बस्तीतिरै हेरेर हरिनाथ सुस्ताउँछन् । घाम माथि नै आइसकेको छ । उज्यालोले अँध्यारोलाई जितेको छ । हरिनाथलाई लाग्छ, यसैगरी सत्यको बोध सबैले गरे परिवर्तन अहिले पनि टाढा छैन र असम्भव पनि छैन ।

    तराईको गर्मी उखरमाउँलो छ । हरिनाथ छहारी खोज्न थाल्छन् । यसो टोलाएका मात्र के थिए, सीताराम महतो टुप्लुक्क आइहाले । दुवै जनाले एकअर्कालाई अभिवादन गरे । आफ्नै बस्तीअगाडि हरिनाथलाई भेटाउँदा सीताराम असाध्यै खुसी भए । यही झुप्रोको बस्तीमा आटोपिठो खाएर कैयौँपटक आश्रय लिएका हरिनाथलाई त्यो बस्तीले सधैँ नेता मानेको थियो । सम्मान गरेको थियो ।

    सीताराम पहिले पनि सहरमा घुमाउँर नाङ्लो, कुचो यस्तै समान बेच्ने गर्थे । पछि पार्टीले सम्पर्क गर्यो; सङ्गठित गर्यो र परिवर्तनको आशामा जनयुद्ध कालभर उनी पनि योद्धा बनेर पार्टीको निर्देशन मानेर राज्यसत्ताको विरुद्ध लडिरहे । संयोग भनौँ, दुस्मनको गोली खाएर पनि उनले सहिद बन्नुपरेन । अहिले उनी फेरि पनि पुरानै व्यवसायमा फर्किएका छन् । त्यही टाउकोमाथि राखेर गाउँसहर डुलेर बेच्ने कुचो, खरेटो र नाङ्लो उनको बाँच्ने आधार बनेको छ ।

    केही समय गाउँबाटै अस्वीकृत जस्तै बनेका सीताराम खुट्टामा गोली लागेका कारण सेनामा छनोट हुन अयोग्य भएका थिए । हुन त समायोजन उनको रुचिको कुरा थिएन ।

    लामो समयपछि पुरानै पेसामा फर्किएका सीताराम लामो समय गाउँबाहिर नै हराएका थिए । बिस्तारै घाउमा माम्री बस्दै गयो । नयाँ घटना परिघटनाको विकास भयो । सीताराम गाउँ जान सक्ने भए ।

    त्यो उखरमाउँलो गर्मीमा सीतारामले हरिनाथलाई सम्मानपूर्वक बस्ती पुर्याए । सबैले स्वागत पनि गरे । अब भने हरिनाथलाई यिनीहरूको अझै पनि साथी नै रहेको महसुस हुन थाल्यो । गोपीनाथको एसीयुक्त भव्य शयनकक्षभन्दा शीतल महसुस भयो ।

    जीवनशैली उस्तै छ । विभेद उस्तै छ । तर पनि त्यो गरिब, अनि दलित बस्ती भए पनि सबैले सबैसँग आँखा जुधाएर कुरा गर्न सक्ने हिम्मत यो बस्तीले जुटाएको छ । हरिनाथलाई गर्व लागेको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा खासै रूपान्तरण हुन नसकेको यो बस्ती ।

    अब यहाँका युवा पनि बस्तीबाट बाहिर निस्कन थालेका छन् । नयाँ नयाँ विचार र व्यवहारको सङ्गत गर्न थालेका छन् । आत्मविश्वास बढेको छ । रेमिटान्सबाटै भए पनि कुनै कुनै घरका छाना फेरिन थालेका छन् । थोरै भए पनि रूपान्तरणको सुरुआत भएको छ । आफैले लडेर लिएका केही राजनैतिक, केही सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न थालेका छन् । जकडिएको बस्ती अब केही स्वतन्त्र पक्कै भएको छ । यी सबै हेरेर लाग्छ, जनयुद्ध त्यसै खेर गएको छैन । केही न केही जनताले राजनैतिक अधिकार प्रयोग गर्न पाएका छन् । सांस्कृतिक तथा सामाजिक रूपान्तरणको सुरुआत भएको छ । हरिनाथले केही सन्तोषको सास फेरेका छन् ।

    यसरी सबै कमरेडहरूको न्यानो स्नेह लिएर गर्मी तराईबाट फेरि पूर्वीपहाडतिर लागेका छन् हरिनाथ । पूर्वको गाडी चढेका हरिनाथ आजै साँझ पूर्वीपहाड पुगिसकेका छन् ।

    तराईको तातो छोडेर पहाड पुगेका हरिनाथलाई पहाडको त्यो चिसो हावा, अनि त्यो मनोरम सुन्दरता तराई, पहाड, हिमाल स्वर्ग नै लाग्छ उनलाई नेपाल । यो जातीय विविधता, यो धार्मिक सहिष्णुता र फरक फरक संस्कार र संस्कृतिको समिश्रण अद्भुत छ हाम्रो संरचना ।
    जनजाति कमरेडको सम्पर्कमा पुगेका हरिनाथ आज उनै कमरेड धनबहादुरको घरमा पुगेका छन् । परिवर्तनकै आशामा सङ्गठित भएर जनयुद्धमा सघाएका धनबहादुरमा केही परिवर्तन आएको पाउँदैनन् हरिनाथ । सरल र सहयोगी धनबहादुर उस्तै मिजासिला छन् । हरिनाथको राम्रो स्वागत गर्छन् । धेरै राजनीतिक, अनि व्यावहारिक कुरा हुन्छन् ।

    पार्टीको अवस्था र माउँ नेताको व्यवहारले निराश देखिन्छन् धन बहादुर पनि । त्यति बेला पार्टीले गरेका जातीय मुक्तिका कुरा र व्यवहारमा एक जाति विरुद्ध अर्को जातिको मनमा द्वैष फैलाएर द्वन्द्वको सृजना गर्न खोज्नुको परिणाम उनी र उनी जस्तै अन्य मित्रमा पनि परेको छ । कुरा गर्दै जाँदा धनबहादुरलाई पनि जातीय रङको कुराले छोएको रहेछ । अब धनबहादुर पनि वर्गीय कुराभन्दा जातीय कुरालाई महत्त्व दिन थाले जस्तो अनुभव हरिनाथले गरेका छन् । पटक पटकको कुरामा धनबहादुर दोहो¥याउने गर्छन्– बाहुनक्षेत्रीले देश खाए; हामीलाई मोहरा बनाए; बाहुनक्षेत्रीको सङ्गत नै गलत थियो—यस्तै घुमाउँरो कुरा गर्न थालेका छन् ।

    हरिनाथलाई नरमाइलो लाग्दछ । हिँजो सबै जात, एउटै जात मान्छे भनेर विशाल सोच बोकेका कमरेड आज एउटा जातको अधिकारका लागि अल्मलिएको देख्दा हरिनाथ अनौठो मान्दछन् । त्यति धेरै प्रशिक्षण र दृष्टिकोणको निर्माण गरिसकेका कमरेडमा यो विचलन अचम्म लाग्छ । जातीय मुक्ति सहायक र वर्गीय मुक्ति प्रधान भनेर त्यति ठुला लडाइँ लडेका कमरेडको यो वैचारिक विचलन पार्टीले निर्माण गर्न नसकेको दृष्टिकोणको समस्या नै प्रधान ठान्दछन् हरिनाथ ।

    हरिनाथ त्यहीँका पुराना जातले बाहुन कमरेडलाई देखाउँदै सम्झाउने कोसिस गर्छन् । ती पुराना मणिराम कमरेड जनयुद्धभन्दा पहिले पनि त्यहीँका जनाजाति साहुको बारीमा जोत्ने गर्थे । अहिले पनि अवस्था उस्तै छ । पुराना मुखियाका बारी जोतेर नै गुजारा चलाउँदै छन् । कहाँ सबै बाहुनले देश खान पाएका छन् र ? हाम्रो लडाइ त वर्गीय मुक्तिको लडाइँ हो । त्यसै जातमा विभाजित हुँदा आन्दोलन झनै कमजोर हुने छ । एउटै वर्गका मान्छे विभाजित हुँदा झनै शक्ति क्षीण हुँदै जाने छ । फुटाऊ र राज गर भन्ने उखान चरितार्थ हुने छ ।

    यसरी लामो कुराकानी भएको छ । हरिनाथ धनबहादुर को आतिथ्य स्वीकारेर त्यही खाना खाएका छन् । त्यो जातीय गन्ध हराएको छ । वर्गीय माया झनै झ्याङ्गिएको छ । त्यो पूर्वीपहाडको काखमा चिसो हावामा पूर्ववतः मिठो निद्रा सुतेका छन् हरिनाथ ।

    बिहानी चिरबिर सुरु भएको छ । हिमालमा सुन पोतिएको छ । अरुण र तमोरको गर्जन कानसम्मै पुगेको छ । हरिनाथ आज पनि सबेरै उठेका छन् । स्थानीय गाउँलेहरू आफ्नै स्थानीय भाषामा कुराकानी गरिरहेका छन् । हरिनाथ केही बुझ्दैनन् । त्यो फरक भाषा, फरक जीवनशैली, फरक भेषभुषा रमाइलो मान्छन् हरिनाथ । हुन त हरिनाथको लागि यो नौलो विषय होइन । तर पनि केही समयपछि फेरि साक्षात्कार हुन पाउँदा अझै रमाइलो लागेको छ ।

    अब पूर्वीपहाडसँग बिदा मागेर र कमरेडहरूको मिठो आतिथ्यलाई मनमा सजाएर केन्द्रतिरको यात्रा तय गरेका छन् ।

    यता, काठमाडौँमा अधिवेशनको रौनक थपिएको छ । सानो सङ्ख्यामा भए पनि देशव्यापी नेता–कार्यकर्ताको आगमन हुन थालेको छ । पार्टी खुम्चिएसँगै सबै कुरा खुम्चिएका छन् । कुनै बेला पूरै देशै रङ्गिन हुने पार्टी महाधिवेशन अब थोरै कार्यकर्ताको बिचमा सकिने हुन थालेको छ । पार्टीले सबै तयारी पूरा गरेको छ । यहाँ पनि पुरानाभन्दा नयाँ र नवप्रवेशीकै फूर्तीफार्ती धेरै छ । सुकिलामुकिला उनीहरू नै बढी क्रान्तिकारी देखिनुपरेको छ । यसपालि पनि विचारको लडाइँ नहुने निश्चित जस्तै भएको छ । माउँ नेताहरूकै आपसी सहमतिमा सबै कुरा सकिने निश्चित जस्तै भएको छ । हाउसको काम ताली बजाएर सहमतिको अनुमोदन मात्रै हुने छ । हरिनाथलाई अहिलेदेखि नै छट्पटी हुन थालेको छ ।

    हरिनाथले सबै समस्या मुहानमै देखेका छन् । अब मुहान सफा नभएसम्म फोहोर तलसम्मै बग्ने नै छ । त्यसैले अब सबैको ध्यान मुहान केन्द्रित हुनुपर्ने हरिनाथको जोड रहेको छ । त्यसैले हरिनाथले अब विचार मिल्ने साथीसँग परामर्स गर्न सुरु गरेका छन् । सबै साथीको जोड पनि माउँँ नेताको जीवनशैली र उठबसमा परिवर्तन ल्याएर माक्र्सवादी आचरणअनुकूल बनाउनु नै आजको आवश्यकता ठानेका छन् । माउँँ नेता आत्मालोचनासहित व्यवहार त सच्चिन तयार भए मात्र नेता मान्न सकिने, अन्यथा बहिस्कार गर्नसमेत अधिवेशनको हल तयार हुनुपर्ने उनीहरूको मत रहेको छ । सर्वहारा वर्गको राजनीति गरेर महलमा रमाउने नेताको चरित्रमा बदलाव आउनैपर्छ । हैन भने पार्टीको नाम कम्युनिस्ट राख्न पाइँदैन । यसले गर्दा कम्युनिस्ट दर्शनप्रतिको जनताको विश्वास अझै टुटेर जाने छ । कम्युनिस्ट आन्दोलन झनै कमजोर हुँदै जाने छ ।

    प्रतिक्षाको घडी सकिएको छ । अधिवेशन सुरु भएको छ । अधिवेशन स्थल कुनै बुर्जुवा पार्टीको भन्दा कम भएको छैन । सबै कुरा खुलमखुल्ला भएका छन् । गोपनीयता भङ्ग भएको छ । कम्युनिस्ट अनुकूल आचरण र व्यवहार पटक्कै भएको छैन । गाडीघोडाको लावालस्कर नै लागेको छ । साइरन बजेका छन् । सामन्तहरूको सभास्थलभन्दा कुनै पनि कोणबाट पनि भिन्न बन्न नसकेको यो अधिवेशनमा युवा सहभागिताले केही उत्साह भने थपेको छ ।

    हरिनाथलगायतको टिम हलमा वैचारिक लडाइँ लड्ने तयारीमा जुटेका छन् । नवप्रवेशी र नवधनाढ्यको घेराउमा माउँँ नेता परेका छन् । हरिनाथ जस्ता दोस्रो र तेस्रो वरियताका नेता–कार्यकर्ता पछाडि परेका छन् ।

    हरिनाथ आफ्नो पालो पर्दा माउँँ नेताको जीवनशैली र ठेकदारदेखि तस्करसम्मका सम्बन्धको बारेमा खुलेरै बोलेका थिए । अबको पार्टीको गन्तव्यको निर्धारण र गन्तव्यप्राप्तिको कार्यदिशा के हुने ? यसको स्पष्टताका बारेमा थुप्रै कुरा गरे । सहिद परिवार तथा अङ्गभङ्ग भएका इमान्दार नेता–कार्यकर्ताको संरक्षण र सहयोगको बारेमा धेरै कुरा गरे । माउँँ नेताको व्यावहारिक विचलन र लेनिनवादी सङ्गठन प्रणालीको बारेमा चर्चा गर्दै टिके प्रथाको अन्त्य गर्दै प्रतिस्पर्धात्मक जुझारु सङ्गठन निर्माणको माग पनि गरे ।

    तर नाम कम्युनिस्ट पार्टी, व्यवहार बुर्जुवा भएकाको भिडमा हरिनाथको बोलीको खासै प्रभाव केही देखिएन । उपियाँहरूको व्यवस्थापनमै पार्टी बढी केन्द्रित हुँदै गयो । नेताले जिम्मेवारी लिँदै आत्मालोचना गर्दै अब सच्चिने कसम नखाएका पनि होइनन् । तर व्यवहारमै सच्चिने सम्भावना अझै पनि देखिएको छैन किनभने सङ्गठनको स्वरूप नै कर्मकाण्डी बनेको छ ।

    अन्ततः अधिवेशन नै कर्मकाण्डी समापनमा टुङ्गिएको छ । यो एउटा फेरि पनि सैद्धान्तिक तथा व्यावहारिक दुवै रूपमा विचलनलाई वैधानिकता दिने अवसर बनेको छ । त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणको कुनै रेखा कोरिएन र समाजवादको व्याख्यासमेत हुन सकेन । हरिनाथलाई लागेको छ । साँच्चै भन्दा यो एउटा कम्युनिस्ट पार्टीको अधिवेशन जस्तो नै हुन सकेन । इमान्दार नेता–कार्यकर्ता पुरस्कृतभन्दा अझै पनि मनोबल गिराएर विचलित हुने अवस्था निर्माण गरियो ।

    अधिवेशन औपचारिक रूपमा सकिएको छ । हरिनाथ तथा उनका साथीहरूको मनमा जुन उथलपुथल थियो, कतैबाट पनि सम्बोधन भएको छैन । निरुपणको उपायको खोजी नै गरिएन ।

    हरिनाथ पुरानै शैलीमा कोठामा फर्किएका छन् । जिन्दगीमा कहिले पनि लाभको पदको आशा गरेनन् । निजी सम्पत्तिप्रति पनि रुचि देखाएनन् । आज पनि उनलाई पद र प्रतिष्ठाप्रति केही आशक्ति छैन । तर पनि माछो माछो भ्यागुतो बनेको नेपालको कम्युनिस्ट आन्दोलनको वर्तमान र भविष्य हेरेर विरक्त लागेर आउँछ ।

    नेपालकै अन्य कम्युनिस्ट पार्टीलाई हेर्छन् । पार्टी सङ्ख्या गन्न मन लाग्छ र साङ्गठनिक संरचना तथा जनाधार औल्याउन मन लाग्छ । त्यताको तस्बिर झनै विरक्तलाग्दो छ । कुरा, विचार मिलेन र पार्टी फुटाएको भन्छन् । व्यवहारमा झनै उत्ताउलो पाउँछन् । विचारभन्दा व्यक्तिगत स्वार्थ नमिलेर पार्टी फुटेका यथार्थ भेटाउँछन् ।

    आफ्नै कोठाको त्यो पुरानो खुट्टेखाटमा खुट्टा झुन्ड्याएर घोत्लिएका हरिनाथ भर्खरै महाअधिवेशन सक्काएको आफ्नै पार्टीतिर नियाल्छन् । पार्टी माक्सवादी र लेनिनवादी भए पनि माक्सवादी विचार र व्यवहार त्यहाँ पनि देख्दैनन । परिवर्तनको यो अवस्थामा आफू र आफ्ना विचार मिल्ने साथीहरूको हस्तक्षेपकारी भूमिका पनि अब सम्भव देख्दैनन्, आफ्नै पार्टीमा उनी ।

    मनमनै आफैलाई आश्वस्त पार्छन् । यो पुँजीवादको जर्जरतामा फस्दै गरेको नेपाली समाजलाई एक दिन सत्यको बोध अवश्य हुने छ । सबैले आत्मालोचना गर्दै सच्चिने दिन पक्कै आउने छ । बगरमा हराउने खोला फेरि पक्कै गड्गडाउने छ । अवरोध सबै हटाउँदै बाटो आफै बनाउने छ । गन्तव्य आफै पुग्ने छ । समानताको यो लडाइँको विजय अवश्य हुने छ । हरिनाथ भविष्यप्रति आशावादी हुन्छन् ।

    घण्टी बजिरहेको मोबाइलतिर हेर्छन् । नवघोषित केन्द्रीय नेता उनै गोपीनाथ रहेछन् । मनोनित गोपीनाथलाई बधाई दिएका छन् । सीताराम महतोलाई सम्झिएका छन् । ज्यानकै बली दिने वीर सहिदका फोटा मुसारेका छन् । भन्दै छन्– क्रान्ति अझै सकिएको छैन । नयाँ लडाइँको सूत्रपात हुनै बाँकी छ । टुहुरा र विधवा कफन बाँधेर हाम्रै भरोसा गरेर बसेका छन् । कोही आउने छ र हुने छ क्रान्ति नायक ।

    आइतबार, माघ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.