काठमाडौं । मूर्ति चोरीको मुद्दामा जेल परेका व्यक्तिलाई नेकपा (माओवादी केन्द्र) ले मन्त्री बनाउने भएको छ । कर्णाली प्रदेशमा माओवादीबाट विवादित व्यक्ति कार्चेन लामालाई मन्त्री बनाउने तयारी थालिएको हो ।
हुम्लाका गैरसांसद लामालाई कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले माग २३ गते मन्त्री बनाउने बताइएको छ ।
माओवादीले मन्त्रीको सिफारिस गरेको छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामा फौजदारी अभियोगमा दोषी ठहर भई दुई वर्ष जेल बस्नुका साथै पाँच हजार जरिवाना तिरेका व्यक्ति हुन् । उनी चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मूर्ति चोरी गरेको आरोपमा जेल बसेका थिए ।
उक्त मूर्ति चोरीको आरोपमा लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएपछि जिल्ला अदालत हुम्लाका तत्कालीन न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते फैसला सुनाएका थिए ।
उक्त फैसलामा उनीसहित दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो । तर लामाले भने २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको पाइएको छ ।