काठमाडौं । भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ। चालीस वर्ष विदेशी भूमिमा जेल जीवन बिताएर निर्दोष साबित भएका दुर्गाप्रसादकी आमा धनमायाको आइतबार ८४ वर्षको उमेरमा निधन भएको हो।
दुर्गाप्रसादका नाति गोपाल तिम्सिनाका अनुसार इलाम माई नगरपालिका लुम्बाकस्थित घरमै उनको निधन भएको हो। केही दिनदेखि उनका हातगोडा सुन्निएर समस्या भएको थियो। दुर्गाप्रसाद विराटनगरमा बस्ने गरेका छन्। उनलाई लिन गएकै बेला आमा धनमायाको मृत्यु भएको नाति गोपालले बताए।
जेलजीवन बिताएका दुर्गाप्रसाद गोपालका ठूलोबुबा हुन्। कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर गत वर्ष मात्र घर आएका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन नसकेकै कारण विराटनगर बसिरहेको बताइएको छ । चार दशक जेलमा बिताएकाले पनि उनलाई गाउँमा बस्न समस्या भएको बताइएको छ।
उनी हाल विराटनगरस्थित मानवसेवा आश्रममा बसिरहेका छन्। दुर्गाप्रसाद र धनमायाको चार दशकपछि भेट भएको एक वर्ष बित्न नपाउँदै आमाको निधन भएको हो। दुर्गाप्रसाद धनमायाका जेठा छोरा हुन्। रासस