प्रकाश थापामगर ##
२०७८ माघ २ गतेको एउटा बैठकमा सहभागी भइरहँदा मलाई रुघाखोकीको प्रकोपले छोप्छ कि भन्ने लागिसकेको थियो ।
अनुभवले मलाई रुघाखोकी लाग्ने पहिल्यै सङ्केत गर्ने गरेको छ । त्यस्तै खालको सङ्केत मलाई त्यतिखेर प्राप्त भइरहेको थियो । हल्का जिउदुखाइ, नाकमुखबाट घरि घरि तातो, पिरो बाफ, कता कता टाउको दुख्ने आभास, शरीरको बेग्लाबेग्लै भागमा सल्का हान्नु जस्ता लक्षण यदाकदा महसुस हुन थालेका थिए । तर त्यस दिन केही भएन ।
बैठक सकाएर युगदर्शनको कार्यालयमा आएँ र त्यहाँ केही घण्टा काम गरेँ । सधैँ झैँ त्यस दिन पनि फर्केर कोठामा आएँ ।
जीवन सँगिनी चन्द्रालाई दुईतीन दिन अघिदेखि नै रुघाखोकीको लक्षण देखा परेको थियो । पहिलो चरणको कोरोना भेरियन्टकै बेला उनले १८–२० दिन ओछ्यान समाउन पुगेकी थिइन् । यसपटक गन्ध र स्वाद हराउने तथा उच्च ज्वरोबाहेक अरू लक्षण उस्तै थिए उनमा । पछिल्लो दुईतीन दिनदेखि उनको बढी समय ओछ्यानमा बित्न थालेको थियो ।
अहिलेको नयाँ भेरियन्ट ओमिक्रोन पहिलेको कोरोनाले भन्दा बढी एक जनाले दश जनालाई सार्ने चर्चा भइरहेका बेला हामी कोरोना सङ्क्रमणबारे परीक्षण गराउने निष्कर्षमा पुग्यौँ । काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को कार्यालयस्थित स्वास्थ्यचौकीमा पहिले प्रत्येक हप्ताको सोमबार र बिहिबार दिउसो १२ बजेदेखि एन्टिजेन परीक्षण गरिन्थ्यो । अहिले पनि त्यही तालिकानुसार परीक्षण भइरहेको छ कि छैन भनेर स्वास्थ्यकर्मी विष्णु पाण्डेलाई फोन सम्पर्क गरेर सोधेँ । उहाँले त्यही ठाउँमा परीक्षण भइरहन्छ भन्ने जानकारी दिनुभयो ।
भोलिपल्ट माघ ३ गते हामी दुई जना एन्टिजेन परीक्षणका लागि हिँड्यौँ । परीक्षणका लागि हिँड्दै गर्दा हामी दुवै जनालाई कोरोना पोजेटिभ देखियो भने डाइबिटिजको नियमित परीक्षण गर्न पुस २८ गते मात्र काठमाडौँ आउनुभएकी आमा र अहिलेसम्म कोरोना विरुद्धको खोप लगाउन नपाएका १२–१७ वर्ष उमेरका दुई छोरालाई कसरी बचाउने ? त्यसको उपायबारे पनि छलफल गर्दै गयौँ । ६५ वर्षकी आमाले दुई मात्रा भेरोसेल लगाइसक्नुभए पनि अहिलेको ओमिक्रोन कोरोनाले खोप लगाइरहेकालाई समेत छुने खतरा छँदै थियो । छोराहरूका लागि माघ ४ गते उनीहरूले पढ्ने स्कुलमा नै मोडेर्ना खोपको पहिलो मात्रा दिइँदै थियो । तर हामीले सोधपुछ गर्दा सामान्यतः ज्वरो आएको सातादिनभित्र कोरोना विरुद्धको खोप लगाउन नमिल्ने जानकारी पायौँ । दुवै छोराले माघ १ गतेसम्म ज्वरोको औषधि खाइरहेकाले स्कुलका प्रिन्सपल एलजे खत्री सरसँग सल्लाह गरेर खोपको मिति सारिदिन अनुरोध गर्यौं ।
हामी स्वास्थ्यचौकी बिहान ११ बजेभन्दा पहिले नै पुग्यौँ । त्यहाँ पुग्दा थाहा लाग्यो, अहिले पनि परीक्षण १२ बजेदेखि नै सुरु हुँदो रहेछ । पहिले जस्तै अहिले पनि प्रत्येक सोमबार र बिहिबार मात्र एन्टिजेन परीक्षण गरिँदो रहेछ । अब एक घण्टा पर्खिनुबाहेक हाम्रासामु अरू विकल्प थिएन । हामी त्यहीँको पिपलको रुखको फेँदमा बसेर घाम ताप्न थाल्यौँ ।
एक घण्टा समय कटाउनका लागि हामीले घाम तापिरहँदा चन्द्राको स्वास्थ्यमा भने सुधार आइरहेको थियो । उनको टाउको दुख्न कम भइरहेको थियो । यता, मेरो स्वास्थ्य भने झन् बिग्रने सङ्केत प्राप्त भइरहेको थियो । अब मेरो टाउको दुखाइ हल्का हल्का सुरु भएको थियो । त्यो भन्दा बढी मेरो जिउ दुख्न थालेको थियो । कुनै बेला, सायद वि.संं. २०४३–४४ सालतिर पहिलोपटक पिताजीसँग मेरो घर गुल्मीको पुर्तिघाटबाट स्याङजाको गल्याङ पुगेर नुन, चामल, मट्टितेल लिएर फर्कदा जसरी शरीर दुख्ने गर्दथ्यो, त्यही प्रकारले मेरो शरीर दुख्न थालेको थियो । घाममा बस्दा टाउको दुख्नु मेरा लागि नयाँ अनुभव थिएन । घाममा बस्दा कहिलेकाहिँ मेरो टाउको दुखिरहन्छ । तर यतिखेर शरीर दुख्ने लक्षण केही असहज रूपमा सुरु भएको थियो ।
१२ बजे भनिए पनि एन्टिजेन परीक्षण गरिने स्थानमा लगाइएको ढोका १२ः१५ मा मात्र खुल्यो । स्वास्थ्यकर्मीहरूले आफ्नोतर्फको तयारी पूरा गर्दासम्म १२ः३० बजिसकेको थियो । यी डेढ घण्टासम्म मैले शरीर दुखाइ सहनैपर्ने थियो र सहेँ पनि ।
१२ः३० बजे परीक्षण स्थलमा पुग्दा चारपाँच जना मानिसहरू हातमा पर्चा लिएर यताउता उभिएका थिए । हरिकान्त शर्मा, गोरख चौधरी र मैले दोस्रो भेरियन्ट कालमा पनि यहीँ ठाउँमा एन्टिजेन परीक्षण गराएका थियौँ । तर त्यतिखेर हामीले पहिले नै पर्चा भरेका थिएनौँ । परीक्षण स्थलमा नै नाम सोधेर पर्चामा विवरण लेखिन्थ्यो । अहिले भने पहिले नै पर्चा भरेर क्रम सङ्ख्या दिइँदो रहेछ । हामी फेरि स्वास्थ्यचौकीमा पर्चा लिन गयौँ । हामीभन्दा पहिले दुई छोरीसहितकी आमा तीन जनाले नाम लेखाए– २५, २६ र २७ । त्यसपछि हाम्रो नाम लेखियो मेरो २८, चन्द्राको २९ ।
हातमा रहेको पर्चाअनुसार क्रमैसँग एन्टिजेन परीक्षण सुरु भयो । नाकभित्रबाट स्वाब निकालेर परीक्षण किटमा राख्न थालियो । सामान्यतः रूपमा हेर्दा हामीलाई किटमा राखिएको स्वाबले रङ फेरेपछि कोरोना पोजेटिभ भएको मानिँदो रहेछ जस्तो लाग्यो ।
केही समयपछि स्वास्थ्यकर्मी बहिनीले मसहित केही जनालाई स्वास्थ्यचौकीको कार्यालयतर्फ हिँड्न भनिन् । हामी सबै स्वास्थ्यकर्मी बहिनीको पछि लाग्यौँ । केही मिनटमै रातो अक्षरले पोजेटिभ लेखिएको पर्चा हाम्रो हातमा थमाइयो । तबसम्म चन्द्रासहित अरू एक जनालाई भने कोरोनाको नेगेटिभ रिपोर्ट लेखिएको पर्चा थमाइसकिएको थियो ।
हातमा रातो अक्षरले पोजेटिभ लेखिएको पर्चा समातेर कोठातिर फर्कंदै गर्दा मैले स्वास्थ्यकर्मी बहिनीलाई सोधेँ– ‘अब अर्को परीक्षण कहिले गर्ने त ?’
‘दश दिन क्वारेन्टाइनमा बस्ने, परीक्षण गर्नुपर्दैन’ प्रत्युत्तर पाइयो ।
चन्द्राले फेरि सोधिन्– ‘औषधि यहाँ पाइन्नँ ?’
स्वास्थ्यकर्मी बहिनीले उत्तर दिइन्– ‘केही औषधि खानुपर्दैन । सारै गारो भए डिकोल्ड खाए हुन्छ ।’
उपर्युक्त सङ्क्षिप्त संवादको समाप्तिसँगै हामीहरू कोठातिर ओरालो लाग्यौँ । बाटोमा हिँड्दै गर्दा आनन्द शर्मा, मोहनविक्रम सिंह, रामप्रकाश पुरी, हरिकान्त शर्मा, विद्यानाथ अधिकारीसित आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गरायौँ । बाटोमा फलफूल र अरू खानेकुरा खरिद गर्यौं । तबसम्म शरीर दुखाइ अरू बढ्दै गइरहेको थियो । त्यसैगरी शरीरको तापक्रम पनि बढ्दै थियो अर्थात् ज्वरो बढ्दै थियो ।
माघ ३ गते साँझ ज्वरो १०१ डिग्री फरेनहाइट थियो । त्यसलाई नियन्त्रण गर्ने कोसिसका साथ एक चक्की प्यारासिटामोल खाएँ । तर माघ ४ गते बिहान ज्वरो झन् बढेर १०४.४ डिग्री फरेनहाइट पुग्यो । त्यसपछि मैले फ्लैक्सन चक्की लिन थालेँ । ४०० मिलिग्राम बु्रफेन र ३२५ मिलिग्राम प्यारासिटामोल रसायन भएको फ्लैक्सन ज्वरो र शरीर दुखाइका लागि मैले पहिले पनि धेरैपटक खाने गरेको थिएँ । फ्लैक्सन चक्की लिन थालेपछि ज्वरो छ–सात घण्टाका लागि रोकिन थाल्यो । त्यसपछि भने ज्वरो फेरि १०४.४ डिग्री फरेनहाइट पुगिहाल्थ्यो ।
उच्च ज्वरो रहेको त्यस समयमा आनन्द शर्माजीलाई दोस्रो कोरोना भेरियन्ट लाग्दा ह्याम्सका चिकित्सकहरूले भनेको भनाइ सम्झिएँ– ‘तपाईंलाई श्वासप्रश्वासमा समस्या छैन । ज्वरोलाई नियन्त्रण गर्ने त हामीसँग दशओटा उपाय छन् ।’
त्यसैगरी, सुधा बहिनीले भनेको सम्झिएँ– ‘प्यारासिटामोलले ज्वरो रोकिएन भने भन्नुहोला दाइ । हामीसित ज्वरो रोक्ने एउटा पातो अर्को औषधि पनि छ ।’
सामान्य अवस्थामा ज्वरो नाप्नु सामान्य जस्तै विषय भए पनि कोरोना सङ्क्रमण कालमा हामीले अप्ठ्यारा बेहोरेका थियौँ । जब कोरोना काल सुरु भयो, औषधि पसलहरू ज्वरो र ब्लडप्रेसर नाप्ने कामदेखि सकेसम्म पन्छिन थाले । हामी उनीहरूको मर्म बुझ्न सक्दथ्यौँ । त्यही बारम्बारको अप्ठ्यारा भोगेर मैले ज्वरो नाप्ने डिजिटल थर्मामिटर कोठामै खरिद गरेर राखेको थिएँ । त्यही अनुकूलताको फलस्वरूप अहिले मैले पटक पटक ज्वरो नाप्न सकेँ ।
यस सन्दर्भमा अनुभवको आधारमा मेरो नेपाल सरकारलाई सुझाव छ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम जनताको निःशुल्क र नियमित रूपमा ज्वरो, ब्लडप्रेसर, तौल र उचाइ नाप्ने व्यवस्था गर्नुपर्दछ । यदि आम जनतालाई ज्वरो र ब्लडप्रेसरबारे मात्रै समयमै सही जानकारी गराउन सकियो भने सानातिना स्वास्थ्य समस्याको बेलैमा समाधान गर्न सकिने छ ।
१०४.४ डिग्री फरेनहाइट ज्वरो कायमै रहने अवस्था माघ ५ गतेसम्म कायम रह्यो । यही समयमाझ जीवन सँगिनी चन्द्रा र अरू साथीहरूले फ्लैक्सनबारे विभिन्न सूचना दिन थाले । कसैको तर्क हुन्थ्यो– फ्लैक्सनले मिर्गौला फेल गराउँछ । कसैको तर्क हुन्थ्यो– ग्यास्ट्रिक बढाउँछ । वास्तविकता के हो ? त्यससित सम्बन्धित जानकारी लिनका लागि मैले राष्ट्रिय जनमोर्चाका पुराना साथी, विज्ञानसम्बन्धी अनुसन्धान जुटिरहनुभएका मित्र जितेन्द्र ढकालका छोरा ह्याम्स अस्पतालका फिजिसियन डा. निशान्त ढकालसित सोध्ने निधो गरेँ । फोन सम्पर्क गर्दासाथ जितेन्द्र सरले आफ्ना छोरा डा. निशान्त ढकालसित सोधेर जवाफ दिनुभयो– फ्लैक्सन खास विकल्पको रूपमा चलाइने औषधि हो । त्यसले पेटमा ग्यास बढाउने भएकाले फ्लैक्सनभन्दा पहिला खाली पेट ग्यास्ट्रिकको औषधि पेन्टाप्राजोल खुवाउनुपर्छ । त्यसपछि मात्र छोटो समयका लागि फ्लैक्सन चलाउन सकिन्छ । सामान्यतः कोरोनाजन्य ज्वरोका लागि प्यारासिटामोल नै उपयुक्त हुन्छ । ज्वरो नियन्त्रणका लागि दुईओटासम्म चक्की एकैपटक लिन सकिन्छ । त्यसपछि पनि ज्वरो नरोकिएमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउनुपर्दछ । ओमिक्रोनमा रुघाखोकीजन्य लक्षण बढी देखिने भएकाले ५०० मिलिग्राम प्यारासिटामोल रसायन रहेको साइनेक्स पनि खान सकिन्छ ।
यो जानकारीबाट मलाई पनि राहत मिल्यो । श्वासप्रश्वासमा मलाई कुनै समस्या थिएन । खानामा अरुचि थिएन । गन्ध पनि बराबर आइरहेको थियो । समस्या खालि ज्वरोको थियो । टाउको दुखाइ हटिसकेको थियो । फ्लैक्सन खाएसँगै शरीरको दुखाइ समाप्त भइसकेको थियो । अब एक चक्की प्यारासिटामोलले नै ज्वरो हट्न थाल्यो । एक चक्की प्यारासिटामोल खाएपछिको आठौँ घण्टामा मेरो ज्वरो ९९.९ डिग्री फरेनहाइटमा झ¥यो ।
छैटौँ दिन माघ ८ गते शनिबार त प्यारासिटामोल खाएको आठौँ घण्ठामा मेरो शरीरको तापक्रम ९७.७ डिग्री फरेनहाइट थियो अर्थात् अब ज्वरो नियन्त्रणमा थियो । खोकीको खासै समस्या थिएन । फेरि पनि घाँटीको हल्का असहजता नियन्त्रण गर्न पाँच चक्की खोकीको औषधि लिएँ । त्यसबाट पनि धेरै लाभ भयो ।
ओमिक्रोन सङ्क्रमणको यो अवधिमा मुख्य समस्या उच्च ज्वरो रहेको महसुस मलाई भयो । यद्यपि थुप्रै सङ्क्रमितलाई ज्वरो नै नआएर खालि रुघाखोकी र शरीर दुखाइको समस्या रहेको देखियो । मानिसको विशिष्ट शारीरिक स्थितिअनुसार, रोगप्रतिरोधी क्षमताअनुसार र मानवीय उपाय, जस्तै : खोप र अन्य औषधि, जीवनशैलीअनुसार ओमिक्रोनको सङ्क्रमण र उपचारको अवधिमा फरक पर्न गएको मैले महसुस गरेँ ।
मान्न सकिन्छ, दुई मात्रा कोरोना विरुद्धको खोप लगाएका कारण, अन्य कुनै दीर्घ रोग नभएका कारण र सक्रिय जीवनशैली बिताएका कारण सम्भवतः ओमिक्रोनले मलाई त्यति बढी पीडा दिएन होला । खालि उच्च ज्वरो तीन दिन मात्र रह्यो । ज्वरोका कारण रहने कमजोरी अवश्य पनि अझै केही दिन रहन सक्ला । अन्य कुनै अशक्तता, असहजता आइनपरेको खण्डमा अब जीवन सामान्य अवस्थामा फर्किसकेको छ ।
कोरोना सङ्क्रमणबाट बच्ने उपायको चर्चा गर्दा मुख्यतः पाँचओटा पक्षमा ध्यान दिनुपर्ने मेरो अनुभूति छ । ती हुन्– क. तनावरहित सकारात्मक र जीवनमुखी सोचाइ, ख. सन्तुलित खाना (जसमा अन्न, तरकारी, गेडागुडी, फलफूल, माछामासु र झोल पदार्थको सन्तुलन मिलेको होस्), ग. नियमित व्यायाम, घ. सरसफाइ र ङ. स्वास्थ्यसम्बन्धी सावधानी वा सतर्कता ।
बुढापुराना भन्छन्– मानिसको शरीर ढुङ्गामाटोले होइन, हाडछालाले बनेको हुन्छ । हाडछालाले बनेको शरीर भएकाले मानव स्वास्थ्य अत्यन्तै गम्भीर विषय हो । स्वास्थ्यप्रति कसैले हेलचेक्र्याइँ गर्नुहुँदैन । स्वस्थ शरीरले मात्रै चिन्तन गर्न सक्दछ । त्यसकारण रोगी शरीरका विरुद्ध हामी सबै गम्भीर हुनुपर्दछ ।
आफू कोराना सङ्क्रमित भएको जानकारी मैले सामाजिक सञ्जालमा राखिनँ । यस अवधिमा मैले सामाजिक सञ्जाल पनि चलाइनँ । फेरि पनि युगदर्शनमा रहेको जिम्माका कारण थुप्रै साथीहरूलाई आफू सङ्क्रमित भएको जनकारी बाँड्नैपर्ने भयो । कतिपय साथीहरूले थाहा पाएर फोन र अन्य माध्यमबाट स्वास्थ्यलाभको कामना गर्नुभयो ।
अन्तमा मेरो स्वास्थ्यप्रति गम्भीर चासो र उत्तरदायित्व प्रकट गर्ने मसम्बद्ध राजनीतिक पार्टी र मलाई चिन्नुहुने पार्टी तथा सङ्गठनका नेता–कार्यकर्ता र पार्टीबाहिरका साथी तथा घरपरिवारका सबै सदस्यप्रति धन्यवाद व्यक्त गर्न चाहान्छु ।

