दार्चुला । सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘कालापानी अभियान’ दार्चुलाको गोकुलेश्वरबाट अघि बढेको छ । मार्च शुक्रबार साँझ सदरमुकाम खलंगा पुग्नेछ ।
मार्चका क्रममा मोटरसाइकल पल्टिएर पाँच सहभागी घाइते भएका छन् । घाइते हुनेमा डडेल्धुराका दिलबहादुर ओली, भोजराज अवस्थी, डडेल्धुराकै अखिल (छैठौं) का जिल्ला अध्यक्ष टंक अवस्थी, डोटीका नरेन्द्र विष्ट र कैलालीका कल्पना बराल रहेका छन् । उनीहरुको अवस्था सामान्य छ ।
साँघुरो र चिप्लो बाटोमा मोटरसाइकल पल्टिँदा सहभागीहरु घाइते भएका राजमो केन्द्रीय सदस्य मनोज भट्टले जानकारी दिनुभयो । ‘हिजो दिनै भरी पानी पर्यो , बाटो साँघुरो र अप्ठ्यारो छ । त्यसमाथि धेरैजसो साथीहरु तराईमा मात्रै मोटरसाइकल चलाएका कारण पहाडी बाटोको अनुभव कम छ’ भट्टले भन्नुभयो, ‘घाइते भएपनि साथीहरुको उत्साहमा कमी छैन । बाइक चलाइरहनुभएको छ ।’
हिजो डडेल्धुराबाट पानीमा भिज्दै सहभागी गोकुलेश्वर पुगेका थिए । आज उच्च पहाडी भेगमा सामान्य हिउँ परेकोले जाडो निकै बढेको छ ।
बुधबार धनगढीबाट अघि बढेको ‘कालापानी अभियान’ अन्तर्गतको मोटरसाइकल याली सो दिन डडेल्धुरा पुगेको थियो भने हिजो गोकुलेश्वरमा बास बसी आज दार्चुला सदरमुकामका लागि अघि बढेको हो ।
त्यस क्रममा आज गोकुलेश्वरमा भएको कार्यक्रमलाई राजमो केन्द्रीय सदस्य लालबहादुर जाग्री र अखिल (छैठौं) काम महासचिव महेश जोशीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमो कैलालीका सदस्य डबल बोगटी र स्वागत राजमो बैतडीका सचिव विरेन्द्र भण्डारीले गर्नुभएको थियो ।
दार्चुला सदरमुकाम खलंगामा आज विरोध सभा गरी अभियान भोलि फर्कनेछ । १७ गते महेन्द्रनगरमा हुने समापन समारोहलाई अध्यक्ष केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस्ः सीमा अतिक्रमण विरुद्ध ‘कालापानी मार्च’ सुरु