काठमाडौँ । नेपालमा विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ पर्ने र निकाला हुनेमा चिनियाँपछि बङ्गलादेशी नागरिक रहेको देखिएको छ । नेपाल प्रहरीका अनुसार पछिल्ला दिनमा बङ्लादेशका नागरिकको गिरफ्तारी बढेको हो ।
पछिल्लो घटनाको रूपमा काठमाडौँबाट कात्तिक १६ गते पाँच जना विदेशी नागरिक पक्राउ परेका थिए । त्यसमध्ये चार जना बङ्गलादेशी र एक जना भारतीय नागरिक रहेका छन् । एक साताअघि पनि दुई जना बङ्गलादेशी पक्राउ परेका थिए ।
अध्यागमन विभागका अनुसार पछिल्लो १० महिनामा ८६ जना बङ्गलादेशी नेपालबाट निष्काशन गरिएका छन्, जबकि पछिल्लो साउनदेखि असोजसम्म मात्रै निष्काशनमा पर्ने बङ्गलादेशीको सङ्ख्या ५१ छ । त्यसमध्ये अध्यागमनको हिरासतमा १८ जना छन् । तीमध्ये १२ जना कागजात पुष्टि गर्न र थप विवरण माग गर्दै काठमाडौँस्थित बङ्लादेशको राजदूतावासलाई आग्रह गरिएको छ ।
बङ्गलादेशीको बढ्दो गिरफ्तारीसँगै उनीहरू पनि सङ्गठित रूपमै गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशङ्कामा प्रहरीले त्यसतर्फ पनि ध्यान केन्द्रित गरेको बताइन्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार कात्तिक १८ गतेसम्मको विवरणअनुसार गत एक वर्षमा हवाइमार्गबाट एक लाख १७ हजार छ सय ८२ जना बङ्गलादेशी नागरिक नेपाल आवतजावत गरेको देखिन्छ । त्यसमध्ये ५८ हजार आठ सय ७९ जना नेपाल भित्रिएको र ५८ हजार आठ सय तीन जना बङ्गलादेश फर्किएका छन् । निष्काशनमा परेकाको तथ्याङ्क पनि यसमा गणना गरिएको छ ।
रोहिङ्ग्या मुस्लिम पनि बङ्लादेशबाट भारत हुँदै नेपाल भित्रिएकाले सुरक्षा सतर्कताको परिणामस्वरूप बङ्गलादेशी नागरिक निगरानीमा परेको सशस्त्र प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरीका अनुसार एक जना आफ्नै देशको नागरिकलाई बन्धक बनाएको अभियोगमा मुद्दा खेपिरहेका एक बङ्गलादेशी पनि पक्राउ परेका छन् । उनी विरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।
त्यस्तै गिरफ्तार एक जनाको कोठाबाट बङ्गलादेशी नागरिकका १४ ओटा राहदानी, आर्थिक कारोबार उल्लेख रहेका डायरी र भारतीय राहदानी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
बङ्गलादेशी नागरिक मूलत: पर्यटक भिसामा नेपाल आएर गैरकानुनी क्रियाकलापमा संलग्न हुने गरेको भेटिएको छ । सशस्त्र प्रहरीले एक महिनाअघि पक्राउ गरेका १० जना बङ्गलादेशीले अवैध रूपमा नेपाल प्रवेश गरेर पस्मिना उद्योगमा काम गरिरहेका थिए ।
सन्दिग्ध गतिविधिमा संलग्न रहेको आशङ्कामा यसअघि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भदौमा साता १० जनालाई पक्राउ गरेको थियो । उनीहरू ठमेलस्थित विभिन्न होटलमा गैरकानुनी रूपमा बसिरहेको अभियोगमा पक्राउ गरिएको हो । त्यस्तै, जेठमा १५ र असारमा २४ जना बङ्गलादेशी पक्राउ परेका थिए ।
प्रहरीले एक महिनाअघि ललितपुरबाट तीन बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको थियो । ललितपुर प्रहरीका अनुसार अनुमतिभन्दा बढी विदेशी मुद्रा भेटिएपछि उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको थियो । पछि उनीहरू काठमाडौ्र्रँको एउटा अस्पतालमा उपचारमा आएका थिए ।
प्रहरीका अनुसार सामान्यतया बङ्गलादेशी तीन प्रकारका गैरकानुनी काममा संलग्न देखिन्छन् : प्रथम– अनुमतिविना स्थल मार्गबाट प्रवेश गरेर काम गर्नु; द्वितीय– कोही भिसाको समय सकिएपछि गैर कानुनी रूपमा बसिरहनु, तृतीय– अन्य भिसामा आएर काम गरिरहनु ।





