काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्विकार गरिसकेको बताउनु भएको छ ।
पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्विकार गरेको बताउनु भएको हो ।
एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताउनु भएको थियो ।
सोही भनाईलाई उधृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित् छ भनेर भाषणमै स्विकार गरेको टिप्पणी गर्नु भयो । उहाँले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाउनु भयो ।
गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाई थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताउनु भयो । उहाँले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको दावी पनि गर्नु भयो ।