काठमाडौँ । अखिल नेपाल युवक सङ्घको का.वा. अध्यक्षमा कृष्णराज पाण्डे तथा का.वा. महासचिवमा भीमसेन वन चयन हुनुभएको छ । २०७८ पुस १० गते बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
आजै का.वा. अध्यक्ष कृष्णराज पाण्डेको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तिमा उपाध्यक्षमा लक्ष्मण पुन, चित्र एमसी, हुमलाल नेपाली, का.वा. सचिव डम्मर कार्की र कुलराज खनाल तथा कोषाध्यक्षमा खगा रानालाई चयन गरेको जानकारी दिइएको छ । त्यस्तै, बैठकले केन्द्रीय सदस्यहरूसमेत थप गरेको छ ।
आगामी माघ २५, २६ र २७ गते बुटवलमा स्थापना दिवस पारेर भेला तथा प्रशिक्षणका आयोजना गरिएको जानकारी दिइएको सो वक्तव्यमा एम.सी.सी. को विरुद्धमा दबाबमूलक कार्यक्रम, विरोधसभा, मसाल जुलुस र सार्वजनिक बहस कार्यक्रम सम्पन्न गर्ने बताइएको छ ।
प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
“अखिल नेपाल युवक सङ्घ, केन्द्रीय समितिको बैठक उपाध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा २०७८ पुस १० गते बुटवलमा सम्पन्न भयो, जसले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।
१. सङ्गठनको वर्तमान अवस्था र गतिविधिका बारेमा बैठकमा रिर्पोटिङ र समीक्षा पछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो ।
२. बैठकले सङ्गठनको विधान बमोजिम जिम्मेवारीमा परिवर्तन गरेको छ । जसमा कार्यवाहक अध्यक्ष कृष्णराज पाण्डे, उपाध्यक्ष लक्ष्मण पुन, चित्र एमसी, हुमलाल नेपाली, कार्यवाहक महासचिव भीमसेन वन, सचिव डम्मर कार्की, कुलराज खनाल, कार्यवाहक कोषाध्यक्ष खगा रानालाई जिम्मेवारी दिएको छ ।
३. बैठकले रिक्त रहेका केन्द्रीय सदस्य पदमा प्रसान्त थापा, ठाकुर पन्थी, कमल पौडेल, प्रताप पौडेललाई र रिक्त रहेको वैकल्पिक सदस्यमा मेगजङ्ग शाहीलाई मनोनित गरेको छ ।
४. बैठकले मिति २०७८ माघ २५, २६ र २७ गते बुटवलमा स्थापना दिवसको अवसरमा राष्ट्रिय भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ, जसलाई सफल पार्न पुस महिनामा प्रदेश भेला तथा बैठक र माघ १५ गतेसम्म जिल्ला भेला तथा बैठक गरिने छ ।
५. राष्ट्रिय हित विपरीतको एम.सी.सी. खारेजीका लागि देशका मुख्य सहर र महत्त्वपूर्ण स्थानमा दबाबमूलक कार्यक्रम, विरोधसभा, मसाल जुलुस, सार्वजनिक बहस आदि गर्ने र यसै सन्दर्भमा काठमाडौँमा केन्द्रीय समितिका तर्फबाट सार्वजनिक बहस आयोजना गर्ने निर्णय बैठकमा भएको छ ।”