डा. गोविन्द आचार्य ##
कर तिरे के के भन्छ उठाएर विदेशमा ।
ढिलो भए जरिवाना असुलेर जनतामा ।।
गरिखाऊँ ठाउँ छैन शासनले ठहरै मार्यो ।
भान्छातिर हेर्दाखेरी टप्प टप्प आँशु झर्यो ।।
हेर्दा भाँडो केही छैन थुक्क जीवन छाती पिट्यो ।
शासनको समाचार आउँदाखेरि दाह्रा किट्यो ।।
कानुनको लौरो देखाई कर तिरमा असुलेका ।
ऋणको भारी बोकाएर थचक्कै पो बसालेका ।।
न त खानु न त पाउनु सित्तैमा ऋण बोक्ने किन ।
ऋण बोकेको ज्याला खोई त सित्तै भारी बोक्ने किन ।।
खाको ऋण पो तिरिएला नखाएको तिर्ने किन ।
करतिरो उठाएर विदेशतिर लग्ने किन ।।
गतिलाले शासन पाए देश गति पथ्र्यो होला ।
करतिरो तिरेको धन यही देशमा राख्थ्यो होला ।।
गाउँबस्तीको आशु पुछ्ने सत्य कर्म गथ्यो होला ।
टुकुटुकु हिँड्ने बालक स्कुलमा जान्थ्यो होला ।।
आफूभन्दा सानो झोला रमाई रमाई बोक्थ्यो होला ।
झोलाभित्र चट्ट मिठो खाजा पनि राख्थ्यो होला ।।
जनताको पसिना त विदेशमा राखिसके ।
करतिरो असुलेर लग्नेजति लगिसके ।।
एउटै मात्र छ है यहाँ त्यो हो हाम्रो रित्तो देश ।
यही रित्तो देश टक्टक्याउँदै लगिसकेको हेरी बस ।।
नखाएको नपाएको लगाउ नाम्लो ऋण बोक ।
थकाइ लागे पानी छैन लाग्छ तिर्खा आँशु धोक ।।
नखाएको ऋण बोक्ने भरिया पो भइयो बाबै ।
कङ्गाल पारे करतिरो विदेशतिर लगे बाबै ।।
करतिरो नतिरौँ त टाउको फोर्न लौरो आउँछ ।
अलच्छिनको हाप्सिलो त घरघरै कराउँछ ।।
विदेशमा हाड घोटी धन यता ल्याएको हो ।
शासनले पसिनालाई अंशवण्डा लाएको हो ।।
जता पनि मेरो मान्छे नाता नभई हुँदैहुन्न ।
मेरो मान्छे नअघाई अरूलाई त दिँदैनन् ।।
रिसाएर बसेका छन् बन्दुकभित्र गोलीहरू ।
जुर्मुराइरहेका छन् सचेतका बोलीहरू ।।
आँखाहरू अझै पर परपर हेरेका छन् ।
भाकाहरू बोल भन्दै जागृतिमा हिँडेका छन् ।।
जनताले नयाँ देशको नयाँ खाका कोरेका छन् ।
करतिरो मिलीजुली खानेलाई चिनेका छन् ।।
करतिरो मिलीजुली कतिन्जेल खाउला यहाँ ।
टेको लगाई अडिएको कतिन्जेल टिक्ला यहाँ ।।
नाश नगर्लान् भनेको त झनै नाश गरिसके ।
सलहले के नास्ला र यिनले अति नासिसके ।।
करतिरो उठेको छ ढुकुटीमा छैन ।
विदेशतिर गयो सबै विकासमा छैन ।।
विकासमा गयो भनौँ दुख्ख गाको छैन ।
सत्य भयो यस्ताबाट देश चल्ने छैन ।।
नाता पाल्दा करतिरो उठाएको गयो ।
आन्दोलन त नेतानाता उपहार भयो ।।
दुख्ख लाग्छ करतिरो विदेशमा गायो ।
धेरैको देश होला भन्दा थोरैको पो भयो ।।
करतिरो धेरैको हो थोरैको भो किन ।
करतिरो नेता नाताहरूलाई चैन ।।
करतिरो भाग लगाई नेता नाता किन ।
हदै पक्षपात गर्छ यो देशको ऐन ।।
छाक टार्न गारो पर्ने करतिरो तिर्ने ।
यसैमाथि थाप्लो चर्काई ऋणको भारी बोक्ने ।।
हिमालदेखि तराई पहाड लटरम्म अन्न ।
करतिरो विदेश लगे छैन औजार खन्न ।।
जोत्नलाई हलो छैन विज्ञानको कला ।
दुधे बालक ऋण बोक्छ देश प¥यो थला ।।
दिमागले नचलेको देश यस्तै हुन्छ ।
देश शासन देख्दा दया हाम्लाई कहाँ लाग्छ ।।
मगन्तेको भेस शासनमा दिमागको सिप ।
देखिएन कतै पनि देश चल्ने सिप ।।
बालककालमा काँक्रो चोर्या बानी मेटिएन ।
नगएको छुचो बानी मेट्दा मेटिएन ।।
साना बालक कति राम्रो चिन्तनका हुन्छन् ।
वनचरीले कति राम्रो गुण बनाई बस्छन् ।।
दलिनमा गौथलीको कति राम्रो घर ।
यति राम्रो दिमाग हाम्रो शासनमा छ र ।।
आँखा चाल्ने कचेरालाई नफाले र हुन्छ ।
जनताको करतिरो विदेश किन जान्छ ।।
यो देशमा अस्पताल बन्न हुन्न किन ।
नबनाउने शासनलाई राख्नुपर्ने किन ।।
गरिबले अस्पताल गए पीडा पायो ।
गए पनि पीडा दिन्छ नजाऊँ जीवन गयो ।।
मुटु मिची गरिबले करतिरो तिर्याे ।
शासनको भरौटेले घोटाला पो गर्यो ।।
अस्पतालको अव्यवस्था कर खानेले गरे ।
के गर्नु र दिमाग छैन भागबन्डामा परे ।।
बस्ने घर बन्धक राखी करतिरो तिरे ।
भागबण्डामा पर्नेहरू गर्नु चैन गरे ।।
आम्दानीका कुखुरा र बाख्रा बेचेका छन् ।
गरिबले करतिरो तिरिरहेका छन् ।।
करतिरो तिर्नेहरू भोकै परेका छन् ।
छाक टार्न नपाएर आँशु पिएका छन् ।।
कहिले जान्छन् विदेशमा त्यही बिचल्ली छ ।
जे गरे नि करतिरो तिर्नैपरेको छ ।।
बालबच्चालाई पेटभरि खान दिऊँ छैन ।
करतिरो उठाएर हरामीलाई चैन ।।
जलेका छन् मनहरू साना झुपडीमा ।
चलेका छन् सुखी जीवन भव्य हवेलीमा ।।
न सुकेका आँसुहरू दुखी परेलीमा ।
करतिरो लगेका छन् भव्य हवेलीमा ।।
करतिरो खाका हैजा नित्य लडेका छन् ।
करतिरोभित्र मिली अंश लाएका छन् ।।
जता पनि हेर जनता लुटी खाका बिल ।
त्यही बिल देशको पीडा बनेको छ खिल ।।
बिलको देश भयो सुन कर तिरेको तिरो ।
दिनरात देश खाने भ्रष्टाचारको किरो ।।
विभेदको मान्छे बस्ने ठाउँ कहिँ छैन ।
करतिरो तिर्छ जनता ढुकुटीमा छैन ।।
यो देशमा विभेदको खडेरी पो पर्यो ।
न्याय दिने ठाउँबाट भ्रष्टाचारको जरो ।।
उखेल्नलाई गारो पर्ने त्यहीँ छ मूल जरो ।
त्यही छ है मूल जरो हुन्छ न्याय कहाँ ।।
हेरिसक्नु बोलिसक्नु लेखिसक्नु छैन ।
कर खानेलाई अझै राखे हाम्रो देश छैन ।।
वन धन जन मन कर खानेले खाए ।
विदेशमा घर जमिन करतिरोले लिए ।।
करतिरो उठाई लगे हामी अलपत्र ।
हेरी बस्ने भैयो बाबै दुखी देशको चित्र ।।
रगत जति बगे पनि बगाउनेलाई भयो ।
अझै पनि होस् नखुले देशको प्राण गयो ।।
बाली खान हात्ती पसुन् यति नासिँदैन ।
बाली खालान् हात्ती जालान् माटो नासिदैन ।।
सर्वनाश सत्यानाश कार खानेले पारे ।
विकासको वसन्तका फूलहरू झारे ।।
जता हेर्याे देशैभरि परेका छन् दुला ।
तिनै दुलाभित्र सर्प कर खाएका ठुला ।।
चन्द्रतारा देखेका छन् रातमा जे जो हुन्छ ।
देश हेर्न आउँछ सूर्य रुँदै रुदै जान्छ ।।
प्रकृतिलाई त यति पोल्दा हाम्लाई कति पोल्ला ।
करतिरो लाँदा हाम्रो मन कति पोल्ला ।।
मन पोलेर मर्ने हो कि हाम्रो सुन्दर भोलि ।
कर तिरेर विदेश लगे अझै थाप्छन् झोली ।।
हिस्स बुढी हरिया दात रगत कहाँ गयो ।
करतिरो उठाएको विदेशतिर गयो ।।
बिरालोलाई सिद्रा हेर्न राखे जस्तो भयो ।
यो देशको करतिरो विदेशतिर गयो ।।
लग्यो कसले करतिरो जसले नारा लाउँछ ।
सुधारका गीत गाउँछ काँचो रगत खन्छ ।।
खुन खानेले विकासको देखाउँदैन जुन ।
करतिरो जनताको पसिना र खुन ।।
कामदारको पसिना खुन कर तिरेको तिरो ।
जता हेर्यो देशभरि खुन खाएको किरो ।।
चेतनाको नवलहर छिटै आए हुन्थ्यो ।
कर खानेलाई देशबाट बढारे नि हुन्थ्यो ।।
ऋणको भारी पिरको भारी बोक्दै जीवन गयो ।
ऋणको भारी बोकाउनेले भाग्य भन्दै ठग्यो ।।
करतिरो उठाएर विदेशमा लग्यो ।
शासनको सादा मनले देशलाई ठग्नु ठग्यो ।।
शासनबाट बाहिर पर्दा माछो किनाराको ।
देश बनाउन मन हैन करतिरोमा गाको ।।
जनतालाई कोलमा पेली करतिरोको तेल ।
पन्च भन बहुदलवादी गरे जाली खेल ।।
यिनकै खेलमा आत्तियो देश समयको नाश ।
देश लगे निराशामा विकास उठिबास ।।
करतिरो खानेहरू अधिकार बाँड्ने ।
अधिकार यस्तो बाँडे देशलाई भाँड्ने ।।
जबसम्म यी रहन्छन् देश सम्हालिन्न ।
कुतत्त्वको खेल पनि कहिले रोकिँदैन ।।
करतिरो विदेश लग्ने कथा बन्द गर ।
शान्ति भन्ने कुतत्त्वका खेल बन्द गर ।।
करतिरो देशमा रहे बन्दुक बन्द हुन्छ ।
देश लुटी राख्ने भए को को के के हुन्छ ।।
बन्दुकमा आँखा हुन्छ सही गलत देख्ने ।
करतिरो विदेश लग्दा कतिन्जेल हेर्ने ।।
ऋणको भारी बोक्नु पर्दा अति दुख्यो टाउको ।
जनताको करतिरो बिर्ता हो र बाउको ।।
करतिरो विदेशमा देश जनतालाई ऋण ।
घिन लाग्ने बानीबाट मुक्ति हुन्नौँ किन ।।
जनताको तातो रगत अझै नतताऊ ।
ऋण बोकाई देश जनतालाई अति नसताऊ ।।
करतिरो उठाएर खाई बाँचेका सुन ।
अन्यायलाई फाल्न बच्छ बन्दुकको धुन ।।
देशका लागि नगर्नेले करतिरो खाए ।
खाने मात्र कहाँ हो र विदेशमा लए ।।
क्रान्ति भन्दै लडाएका लडाकुको पनि ।
लड्नेहरू पीडामा छन् लड्ने धनी ।।
यहाँ मात्र कहाँ हो र विदेशमा पनि ।
जता पनि लडाउने भएका छन् धनी ।।
संसारका घटनाले भन्छन् हामीलाई ।
भ्रष्टहरू निखार्नलाई लड अब आई ।।
करतिरो उडाई खाँदा रगत तातो हुन्छ ।
घटनालाई हेर भ्रष्ट पक्कै शासन जान्छ ।।
सातो जान्छ करतिरो उठाएर खाँदा ।
कसको मन रुन्न भ्रष्ट विदेशमा लाँदा ।।
जनता जागे कसको के लाग्छ र ।
न्याय भए बन्दुक के बज्छ छ र ।।
संसारका दुष्टले ढाँटेथे ।
अजम्बरी हुनलाई आँटेथे ।।
समयले अन्याय सहन्न ।
भ्रष्टको दिन संसारमा रहन्न ।।

