तनहुँ । तनहुँमा पाँच राजनीतिक दलले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग सहित ज्ञापन पत्र बुझाउँदै विरोध सभा सम्पन्न गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत् प्रतिनिधि सभाका सभामुखलाई ज्ञापन पत्र बुझाउँदै विरोध सभा सम्पन्न भएको हो ।
पाँच दलका नेताहरू सम्मिलित प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाए पछि दमौलीको भोर्लेटारमा विरोध सभा सम्पन्न गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा तनहुँका जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठले संसद्ले एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई कुनै पनि हालतमा पारित नगर्न माग राख्दै सभामुखको नाममा आफूहरूले ज्ञापन पत्र पठाएको जानकारी दिनुभयो ।
उहाँले एमसीसी नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको पनि विरोधी भएकाले त्यसलाई खारेज गर्न आग्रह गर्नुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ल अध्यक्ष नवीनको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (मसाल) तनहुँका प्रवक्ता भरत केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष बेनीबहादुर थापा र नेकपाका जिल्ला सेक्रेटरी एटमले सम्बोधन गर्नुभएको थियो ।