काठमाडौं । नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दलले आज (पुस ६ गते) एमसीसीविरुद्ध देशैभर प्रदर्शन गर्दै छन् । एमसीसी पेश गर्ने उद्देश्यले संसद बैठक बोलाइएको दिन पारेर देशैभरी संयुक्त विरोध प्रदर्शन गर्न लागिएको नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्यनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहनवैद्य किरण, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सिपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा आइतबार जारी संयुक्त विज्ञप्तिमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको थियो ।
आज काठमाडौंको माइतीघर मण्डलाबाट दिउँसो १२ बजे जुलुश प्रदर्शन गरिने र बानेश्वरमा विरोध सभाको आयोजना हुने राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले जनाएको छ । यसैगरी देशका विभिन्न जिल्लाहरुमा पनि संयुक्त प्रदर्शनको आयोजना गरिएको छ ।