काठमाडौं । विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ । सो पार्टीले संयोजक मिलन पाण्डेसहित उनी पक्षका नेताहरुलाई कारबाहीको तयारी गरेको छ।
कारबाही स्वरुप उनीहरुलाई पुस ४ गतेभित्र स्पष्टीकरण दिन भनिएको र स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही गरिने सो पार्टीले जनाएको छ ।
विवेकशील साझाले संयोजक पाण्डे, बागमती प्रदेशकी संयोजक रन्जु दर्शना र अन्तर्राष्ट्रिय समिति संयोजक सुरेश भट्टलाई पार्टीको जिम्मेवारीबाट वर्खास्त गर्ने तथा पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाउने निर्णय गरेको छ ।
यस्तै, संसदीय दलका नेता रमेश पौड्याललाई फिर्ता बोलाउने तयारी समेत गरिएको छ।
यता, पाण्डे पक्षले भने पार्टीमा गणतन्त्र पक्षधर नेताहरुलाई छानी छानी कारबाही गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले अध्ययक्ष रवीन्द्र मिश्र ‘महेन्द्र पथमा हिँडेको आरोप लगाउँदै राजा महेन्द्रले ‘कू’ गरेको पुस १ गतेकै दिनमा मिश्रले गणतन्त्रवादीमाथि कारबाही गर्ने निर्णय गरेका बताएका छन्।
रवीन्द्र मिश्रले गत साउन ११ गते पार्टीमा मार्ग परिवर्तन( विचारभन्दा माथि देश भन्ने दस्ताबेज ल्याएपछि विवाद सुरु भएको हो।
एकचोटी फुटेर गत मंसिरमा दोस्रोचोटी एकीकरण गरेका रवीन्द्र मिश्र र मिलन पाण्डेले एकीकरण गर्दा पार्टीलाई गतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने र विगतका आन्दोलनका उपलब्धीहरुलाई रक्षा गर्ने पार्टी बनाउने भनेर लिखित सहमति गरेका थिए। तर, मिश्रले एकीकरणलाई धोका दिएर राजावादी लाइन समातेको पाण्डे पक्षको आरोप छ।