काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न महामन्त्री पदको मत गणना अनुसार थापा र शर्मा निर्वाचित हुनुभएको हो ।
१४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार दिउँसो मतगणना सकिएको हो । अन्तिम नतिजा अनुसार गगन थापाले ३ हजार २३ र विश्व प्रकाश शर्माले १९८४ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
यस्तै, पराजित प्रकाश शरण महत १५५६, प्रदिप पौडेल १३९३, डा. मिनेन्द्र रिजाल ८०९ र राजाराम कार्कीले १०६ ल्याउनुभएको छ ।
महामन्त्री निर्वाचित थापा र शर्मा दुवैसंस्थापन इतर समूहका हुन्। थापा शेखर कोइराला समूह र शर्मा प्रकाशमान सिंह समूहबाट उम्मेदवार बन्नुभएको हो । थापाले सर्वाधिक पाएका छन्। शर्माले दोस्रो सर्वाधिक मत ल्याए।
शेरबहादुर देउवा पक्षबाट महामन्त्री उम्मेदवार रहेका डा. मिनेन्द्र रिजाल पराजित निश्चित भएपछि बिहीबार नै रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरिसक्नुभएको छ ।