दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा गणतन्त्र र राष्ट्रियता संकटमा भएको र एमसीसी खारेज हुनुपर्ने बताउनुभएको छ।
राजमो दाङले मंगलबार घोराहीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले एमसीसीलाई खारेज गर्नुपर्छ भन्नु भयो ।
उहाँले भन्नुभयो– ‘अमेरिकी सैनिक अखडाको रूपमा नेपाली भूमि तयार भयो भने हामी चीनको विरुद्ध अमेरिकाको पक्षमा आएको ठहर्ने छ । हामीलाई चीन विरुद्ध अमेरिकाको क्याम्पमा खडा हुनु छैन किनभने चीन पनि साम्राज्यवादी मुलुक हो । यद्यपि साम्राज्यवादी मुलुक भए पनि चीन हाम्रो छिमेकी राष्ट्र हो ।’

‘चीनले नेपालको भूमि, राष्ट्र, स्वाधनीतामाथि आक्रमण गर्ने काम गरेको छैन । त्यसैले अमेरिकाले जुन मोर्चाबन्दी गर्दै छ, त्यो अमेरिकी क्याम्पमा जान सक्दैनौ, जानु पनि हुँदैन । त्यो देशका लागि घातक हुन सक्छ’ उहाँले भन्नुभयो– ‘अमेरिकाले आफै स्वीकार गरेको छ कि एमसिसी अमेरिकाको सैन्य रणनिति हो ।’
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्लाध्यक्ष गणेश आचार्यले गणतन्त्रको रक्षा, देश टुक्राउने सङ्घीयताको खारेजीलगायतको विषयमा पार्टीले सशक्त रूपमा आवाज उठाउने, एमसीसी खारेजसँगै देशको राष्ट्रियताको रक्षा सँगसँगै गणतन्त्रको प्रश्नलाई पनि गम्भीरतापूर्वक आन्दोलनको विषय बनाउन जरुरी भएको बताउनुभयो ।

‘एमसीसी खारेज गरेर राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता रहेको छ’ यस प्रकारको जिम्मेवारी नेपाली जनताको काँधमा आएको उहाँको भनाइ थियो । कार्यक्रमको सञ्चालन राजमो दाङ जिल्ला सचिव बसन्त पौडेलले गर्नुभएको थियो ।