काठमाडौं । नेकपा (एमाले) को अध्यक्षमा केपी ओलीलाई भीम रावलले चुनौति दिएपछि मतदानबाटै नेतृत्व टुंगिने भएको छ । यस्तै, ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरु विरुद्ध घनश्याम भुसालको उम्मेदवारी परेको छ ।
यस्तै, ओलीको सूचीविरुद्ध सचिव र केन्द्रीय सदस्यहरुमा समेत मतदान हुने भएको छ । नयाँ नेतृत्वका लागि सोमबार राति ९ बजेदेखि मतदान हुने भएको छ।
चितवनमा जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका क्रममा नेतृत्व चयनमा सहमति नभएपछि मतदानको समय निश्चित गरिएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म हुनेछ ।
निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा मतदान सम्पन्न भएपश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको छ ।
एमालेको जारी दसौँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भइसकेका छन् ।