सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा सर्लाहीमा गोली चलेको छ । अधिवेशनको क्रममा विवाद भएपछि मन्त्रीका पीएसओले गोली चलाएका छन् ।
सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा कांग्रेस कार्यकर्ताबीच विवाद बढेपछि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पीएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । झडपमा मन्त्रीका पीएसओ हवल्दार खंग सामान्य घाइते भएका छन् ।
बलारा नगरपालिकाको वडा नम्बर ९ को अधिवेशनमा पुगेका मन्त्री सिंह र स्थानीय कार्यकर्ताबीच धकेलाधकेल भएको थियो । स्थानीय कार्यकर्ताले मन्त्रीले वडाअधिवेशनमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
सो क्षेत्रमा कांग्रेस नेता अमरेशकुमार सिंह र अर्को पक्षबीच लामो समयदेखि विवाद देखिँदै आएको छ । मन्त्री सिंहले अमरेश सिंहका कार्यकर्तले आक्रमण गरी आफ्नो अंगरक्षकलाई घाइते बनाएको बताए ।