काठमाडौँ । अखिल (छैठौं) ले भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलीले सञ्चालन गर्न लागेको दुई टेलिभिजनमाथि रोक लगाउन माग गरेको छ ।
विदेशी लगानी तथा प्रविधि ऐन–२०७५ ले सञ्चार माध्यममा विदेशी लगानी वर्जित गरेको अवस्थामा ती टेलिभिजनलाई स्वीकृत गर्नु, अझै प्रधानमन्त्री देउवाले नै सो टेलिभिजनको उद्घाटन गर्नु गलत भएको अखिल (छैठौं) ले दाबी गरेको छ ।
अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षरमा २०७८ मङ्सिर १० गते जारी प्रेसवक्तव्यमा सो अवधारणा व्यक्त गरिएको छ ।
उक्त टेलिभिजनको उद्घाटन स्वयम् प्रधानमन्त्रीले नै गरेकोमा नेपालको राष्ट्रियता उच्च तहबाटै सङ्कटमा रहेको निष्कर्ष निकालिएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलीको लगानीमा सञ्चालन हुन लागेका दुई स्याटलाइट टेलभिजन “आस्था नेपाल” र “पतञ्जली नेपाल” को प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु र सो क्रममा टेलिभिजन सञ्चालनका लागि जग्गा दिने देउवाको अभिव्यक्तिप्रति अखिल (छैठौं) को गम्भीर ध्यानाकर्षण भएको छ ।
हामीले उक्त अभिव्यक्तिलाई सच्चाउन र टेलिभिजन सञ्चालनमा रोक लगाउन समेत माग गर्दछौँ । सरकारको जिम्मेवार व्यक्तिले हल्का अभिव्यक्ति दिनु र कार्यक्रममा सहभागी हुनुले देशको राष्ट्रियता उच्च तहबाट नै सङ्कट रहेको कुरा पुष्टि हुन्छ । विदेशी लगानी तथा प्रविधि ऐन–२०७५ ले सञ्चार माध्यममा विदेशी लगानी वर्जित गरेको अवस्थामा देशको प्रधानमन्त्रीबाट यस प्रकारको अभिव्यक्ति आउनु गैरजिम्मेवारीपन हो
हाम्रो सङ्गठन अखिल (छैठौं) ले पतञ्जलीले सञ्चालन गर्ने स्याटलाइट टेलिभिजनलाई अनुमति नदिन र प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति सच्चाउन माग गर्दै यदि त्यसो गरिएमा कडा आन्दोलनको चेतावनी दिन चाहन्छौँ ।”