काठमाडौं । बुधबार साँझ नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भेटघाटमा ब्यस्त भएका छन् । लु ले आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवा र भोलि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु तीनदिने भ्रमणका क्रममा काठमाडौं आएका हुन् ।
दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले नेपाल बसाइका क्रममा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।
यस्तै, आज (बिहीबार) दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आउँदैछिन् । उनले पनि नेपाली अधिकारी र नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।
अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो।
‘कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ।
नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी विवादित भइरहेका बेला अमेरिकाका सहायक विदेशमन्त्री र उपसहायक मन्त्रीका दुई वटा छुट्टाछुट्टै टोलीले सक्रियता बढाएको हो ।