काठमाडौं । मुगुको सदरमुकाम गमगढीमा सोमबार राति भएको आगलागीबाट २१ वटा घर नष्ट भएका छन् । स्थानीय खिन्ने लामाको पूजाकोठामा बालिएको बिजुली बत्तीबाट आगलागी सुरु भएको स्थानीय प्रशासनले जनाएको छ ।
राति साढे १२ बजेदेखि अचानक आगलागी सुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । अन्य घरमा आगो नफैलियोस् भनेर केही घर भत्काइएको र आगो फैलिनबाट रोकिएको उहाँले बताउनुभयो ।
साँघुरो सडक र बाक्लो बस्ती भएको बजारमा आगलागी भएकाले नियन्त्रणमा लिन निकै समय लागेको उहाँको भनाई छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको प्रयासमा मंगलबार बिहानमात्र आगलागी नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट अरबौँको क्षति भएको अनुमान गरिएको छ । जलेका २१ घरमै पसलहरु थिए । क्षतिको विस्तृत विवरण संकलन सुरु गरिएको प्रजिअ महतले बताउनुभयो ।
गमगढीमा दमकल छैन । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पानी, स्याउला र माटोले आगलागी नियन्त्रणमा लिइएको थियो ।