काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच चुनावी तालमेलबारे कुरा नभएको बताउनुभएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले उच्चस्तरीय समिति दलहरुबीच समन्वय गर्न बनाइएको पनि स्पष्ट पार्नुभएको छ ।
‘चुनाउ मिलेर लड्ने भनेकै छैन’ देउवाले भन्नुभयो, ‘अहिले हामी सँगै लड्ने निर्णय भएको छैन।’ यस्तै, केही नेताहरुले उच्चस्तरीय समन्वय समितिप्रति असन्तुष्टि जनाउँदै चुनावी तालमेलका लागि समिति बनाइएको आशंका गरेका थिए। नेता प्रकाशमान सिंहले त्यसबारे असन्तुष्टि राखेपछि सभापति देउवाले राष्ट्रिय सभा चुनावसम्म गठबन्धन कायम रहने बताउनुभयो । देउवाले भन्नुभयो, ‘यो समन्वय गर्नलाई बनाइएको हो। लामो होइन राष्ट्रिय सभा निर्वाचन सम्मका लागि ।’
न्यायलयबारे कांग्रेस बोल्दैन
सभापति शेरबहादुर देउवाले झण्डै चार सातादेखि न्यायालयमा देखिएको विवादमा नबोल्न नेताहरुलाई निर्देशन दिनुभयो । बैठकमा नेताहरुले अदालतमा देखिएको विवादबारे कुरा उठाएपछि देउवाले यसबारे नबोल्न रुलिङ गर्नुभएको हो ।
नेताहरु, प्रकाशशरण महत, गगन थापालगायतले न्यायलयको आन्दोलनबारे कुरा उठाएपछि देउवाले रोक्दै त्यसबारे नबोल्न निर्देशन दिनुभएको हो ।
‘अदालतको विषयमा अहिले हामी नबोल्ने हो’ देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘सबैले सुन्नुहोला, अहिले हामी बोल्ने पक्षमा छैनौँ ।’