काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।
अखिल (छैठौं) सहित ६ विद्यार्थी संगठनले शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् ।
त्यस अवसरमा विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै निगमका कर्मचारी र सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दवाव दिइरहेका छन ।
पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ ।