काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा वा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताउनुभएको छ ।
सोमबार विराटनगर पुगेका ओलीले दुवै जनामध्ये एक जनाले जनतालाई झुक्याउने काम गरेको बताउनुभयो ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न आफू र प्रचण्डले हस्ताक्षर गरेर एमसीसी मुख्यालयलाई पत्र पठाएको बताउनुभएको थियो । तर आफूले त्यस्तो पत्र नपठाएको प्रचण्डको दाबी थियो ।
सोही सन्दर्भमा ओलीले देउवा वा प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताउनुभएको हो । उहाँले एमसीसी पास गर्ने वा नगर्ने विषय देउवा र प्रचण्डलाई सोध्न पनि आग्रह गर्नुभएको छ ।
‘एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,’ उहाँले भन्नभयो, ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्ड जी होइन भन्नुहुन्छ। दुईवटामध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’
उहाँले एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताउनुभयो । यस्तै, ओलीले एमालेको सरकार ढालेर देउवा सरकारमा मन्त्री बनेकाहरुलाई आगामी चुनावमा जमानत जोगाउन चुनौति पनि दिनुभएको छ ।
पत्रकारसँग कुरा गर्दै ओलीले संसद् पुनःस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिबारे परमादेश आएसँगै अदालतमा राजनीति घुसेको दाबी पनि गर्नुभयो । विघटन सम्बन्धी फैसलामा सहभागी हुने सबैले राजीनामा दिनुपर्ने ओलीको तर्क छ ।