कञ्चनपुर । राष्ट्रिय जनमोर्चा शुक्लाफाँटा नगर समितिका सदस्य मानबहादुर पुजाराको सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार बिहान स्थानीय त्रिवेणीघाट स्थित स्याली नदीमा उहाँको अन्त्येष्टि गरिएको हो ।
पुजाराको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट र सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो । त्यस क्रममा संक्षिप्त शोक मन्तब्य प्रकट गर्दै महासचिव भट्टले पुजाराको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
त्रिवेणीघाटमा आयोजित श्रन्द्धान्जली सभामा राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले पुजाराको जीवनीबारे चर्चा गर्नुभएको थियो।

कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का सुदूरपश्चिम प्रदेश अध्यक्ष जनक कुँवर, राजमो जिल्ला सदस्य दयाराम अधिकारी वैकल्पिक जिल्ला सदस्य वीरबहादुर बोहरा, शुक्लाफाँटा नगर समितिका अध्यक्ष टुंके बोहरा लगायत आफन्त र स्थानीयको सहभागिता रहेको थियो ।
राजमो शुक्लाफाँटा नगर समिति सदस्य पुजाराको बुधबार बिहान सो नगरपालिका वडा नं १२ स्थित घरमा अकस्मात बिरामी परेपछि महाकाली अञ्चनल अस्पताल पुर्याइएको थियो । त्यहाँ पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
२०३८ सालमा बैतडी तल्लादेहीमा जन्मेका पुजाराको श्रमती हरुली पुजरा र ८ वर्षका छोरा अमृत छन् । तीन दाजुभाइ र चार दिदीबहिनीमध्य पुजारा कान्छो हुन् ।
राजनीतिसँगै समाजसेवामा सक्रिय पुजरा धेरै सामाजिक संघ संस्थामा क्रियाशील हुनुहुन्थ्यो ।